Biratnagar, Morang, Nepal
९ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

बंगालको खाडीबाट अघि बढेको पानी पार्ने प्रणाली कोशीतर्फ सतर्क रहन आह्वान

उद्‌घोष संवाददाता
८ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली (डिप डिप्रेसन) भारतको पूर्वी तटतर्फ सर्दै गर्दा त्यसको प्रभाव कोशी प्रदेशमा पनि देखिन थालेको छ । यो प्रभावले कोशी प्रदेशमा ठूलो प्रभाव पार्ने औंल्याउँदै प्रशासनिक निकायहरुले उच्च सतर्कताका लागि आह्वान गरेका छन् । मेची राजमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ । 

यही मौसमी प्रभावले बुधबार दिनभरीजसो नै झापाको पूर्वी क्षेत्रमा हलुका र मध्यम वर्षा भएको छ । 

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि कोशीमा वर्षाको गतिविधि बढ्ने र प्रदेशका केही स्थानमा भीषण वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ । 

नेपालको मौसममा प्रभाव पारिरहेको प्रणाली अहिले सामान्य न्यूनचापीय क्षेत्रभन्दा शक्तिशाली अवस्थामा पुगेको छ । 

भारत मौसम विज्ञान विभागले बुधबार जारी गरेको आधिकारिक समुद्री मौसम बुलेटिनअनुसार पश्चिम–मध्य तथा त्यससँग जोडिएको उत्तर–पश्चिम बंगालको खाडीमा रहेको डिप डिप्रेसन बुधबार बिहान ८ः३० बजे १८ डिग्री उत्तर अक्षांश र ८४.६ डिग्री पूर्वी देशान्तर आसपास थियो ।

वायुमण्डलको कुनै क्षेत्रमा वरिपरिको भन्दा हावाको चाप कम हुने अवस्थालाई न्यूनचापीय क्षेत्र भनिन्छ । यस्तो ठाउँमा वरिपरिको हावा भेला भएर माथितिर उठ्ने भएकाले बादल बन्ने र वर्षा हुने सम्भावना बढ्छ । 

न्यूनचापीय प्रणाली कति बलियो छ भन्ने आधारमा मौसमविदहरूले त्यसलाई विभिन्न तहमा वर्गीकरण गर्छन् ।  त्यसैले ‘डिप डिप्रेसनमा परिणत भयो’ भन्नुको अर्थ न्यूनचापीय प्रणाली अझ बलियो भयो भन्ने बुझिन्छ ।

उक्त प्रणाली विशाखापट्टनमबाट करिब ६० किलोमिटर दक्षिणपूर्व, गोपालपुरबाट १५० किलोमिटर दक्षिण र पुरीबाट २४० किलोमिटर दक्षिण–दक्षिणपश्चिममा रहेको भारतीय मौसम विभागले जनाएको छ । प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने र बुधबार रातिसम्म विशाखापट्टनम र गोपालपुरबीचको उत्तर आन्ध्र प्रदेश–दक्षिण ओडिसा तटबाट  डिप डिप्रेसनकै रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना रहेकोे पूर्वानुमान छ । 

समुद्रमा रहेको प्रणालीको यही गति र त्यससँग जोडिएको चिस्यानयुक्त वायुमण्डलीय अवस्थाको प्रभाव नेपालमा समेत पर्ने भएकाले कोशीमा वर्षाको गतिविधि बढ्ने भएको हो ।

जल तथा मौसम विज्ञान विभागको बुधबारको अद्यावधिक विवरण अनुसार कोशी प्रदेशका पहाडी भूभागमा भीषण वर्षाको सम्भावना छ । 

रातिको समयमा कोशीका पहाडी तथा तराईका केही स्थानमा वर्षाको मात्रा अझ बढ्न सक्ने विभागको पूर्वानुमान छ । विभागले मौसमसँगै नदी तथा खोलाको अवस्थासमेत निगरानी गरिरहेको छ ।

कोशीमा बुधबारदेखि देखिएको वर्षा बिहीबार थप सक्रिय हुने र त्यसपछि शुक्रबार तथा शनिबार वर्षाको गतिविधि अझ बढ्न सक्ने विभागको पूर्वानुमान छ । 

विशेषगरी बंगालको खाडीबाट आएको प्रणाली जमिनमा प्रवेश गरेपछि त्यसको अवशेष पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै जाँदा नेपालमा चिस्यानको आपूर्ति र वायुमण्डलीय अस्थिरता बढ्न सक्छ । 

यही कारण आगामी केही दिनलाई कोशीसहित देशका विभिन्न भूभागका लागि वर्षाका हिसाबले संवेदनशील मानिएको हो ।

मौसम विभागको बुलेटिन अनुसार बंगालको खाडीको प्रणाली नेपालमै प्रवेश गरेर वर्षा गराउने होइन । 

समुद्रमा विकसित प्रणालीले ठूलो क्षेत्रमा हावाको दिशा, वायुको चाप  र चिस्यानको अवस्था प्रभावित गर्छ । त्यसको प्रभाव नेपालसम्म आइपुग्दा वर्षाका लागि अनुकूल वातावरण बन्ने हो । 

भारत मौसम विज्ञान विभागको बुधबारको बुलेटिनअनुसार प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढिरहेको छ । त्यसैले नेपालमा यसको प्रभाव प्रणालीको प्रभाव  कुन दिशाबाट अघि बढ्छ र त्यस क्रममा कति चिस्यान कायम रहन्छ भन्नेमा निर्भर हुनेछ ।

कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागमा छोटो समयमा ठूलो पानी परे पहिरो, गेग्रान बहाव र स्थानीय खोलानालामा आकस्मिक बहाव बढ्न सक्छ । 

पहाडी सडकमा पहिरो खस्ने र यातायात प्रभावित हुने जोखिम पनि वर्षाको तीव्रतासँगै बढ्न सक्छ । तराईमा भने लामो समयसम्म पानी परे स्थानीय खोलानालाको बहाव बढ्ने, पानीको निकास प्रभावित हुने तथा तल्लो भूभागमा डुबानको जोखिम बढ्न सक्छ ।

यसकारण झापा, मोरङ र सुनसरीका तराई क्षेत्रका लागि वर्षाको मात्रा र अवधि महत्वपूर्ण हुनेछ भने पहाडी तथा हिमाली जिल्लामा वर्षाको तीव्रतासँगै पहिरो र गेग्रान बहावको जोखिम महत्वपूर्ण हुनेछ । 

यद्यपि अहिलेको पूर्वानुमानकै आधारमा कोशीका कुनै निश्चित जिल्ला डुबान वा पहिरोको उच्च जोखिममा परिसकेको निष्कर्ष निकाल्न नमिल्ने विभागको भनाइ छ । 

नेपालको पूर्वी भाग बंगालको खाडीबाट आउने मौसमी प्रणालीको प्रभावमा तुलनात्मक रूपमा छिटो पर्न सक्छ । अहिलेको प्रणाली पनि बंगालको खाडीबाट पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै रहेकाले कोशीमा बुधबारदेखि नै यसको प्रभाव देखिएको हो ।

View : 148

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved