Biratnagar, Morang, Nepal
३ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

उद्घोष दैनिकको २२औँ वार्षिकोत्सव : शिक्षासेवी र समाजसेवी सम्मानित

उद्‌घोष संवाददाता
३ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । उद्घोष दैनिकले मंगलबार आफ्नो २२ औं वार्षिकोत्सव औपचारिक कार्यक्रम आयोजना गरेर बनाएको छ । 

समसामयिक विषयमा राजनीतिक दल तथा निजी क्षेत्रका नेतृत्वकर्ताहरूबीच बहस आयोजना गर्दै तथा शिक्षा क्षेत्र र समाजसेवाका क्षेत्रमा योगदानकर्ताहरूलाई सम्मान गर्दै उद्घोषले २२ औं वर्षको यात्रा थालेको हो । 

मंगलबार विराटनगरस्थित सिटी प्यालेसमा आयोजित समारोहमा शिक्षा तथा पत्रकारिता क्षेत्रमा लामो योगदान पुर्‍याएका शिक्षासेवी गुणराज ढुंगेल र उद्योग, व्यापारसँगै सामाजिक क्षेत्रमा योगदान पुर्याएका शिवरतन शर्मा जोशीलाई सम्मान गरिएको छ ।

शिक्षासेवी ढुंगेलले शिक्षा क्षेत्रमा करिब छ दशक तथा पत्रकारितामा समेत लामो समय योगदान दिएका छन् । 

विराटनगरमा निजी क्षेत्रबाट कलेज स्थापना गरी शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । 

त्यसैगरी तीन पुस्तादेखि उद्योग–व्यवसायलाई निरन्तरता दिँदै सामाजिक, धार्मिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा समेत योगदान पुर्याएका जोशीलाई पनि सम्मान गरिएको थियो । 

समारोहमा नेपाली कांग्रेसकी उपसभापति एवं प्रमुख अतिथि पुष्पा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मनिष झा, नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं संविधानसभा सदस्य जयराम यादव, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, अफिनका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की लगायतले शुभकामना प्रकट गरेका थिए । 

कार्यक्रमका वक्ताहरूले उद्घोषले मोफसलमा रहेर नागरिकका आवाज र सार्वजनिक सरोकारका विषय सशक्त रूपमा उठाएको र यो क्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए । 

कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा उद्घोषका सह–सम्पादकसमेत रहेका पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले सरकारले निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई सरकारी विज्ञापनमा रोक लगाएको घटनाबारे चर्चा गरेका थिए । 

‘सरकारी निर्णय नेपालका निजी क्षेत्रका मिडिया धराशायी बनाउने गरी आयो,’ उनले भने ‘अदालतले सरकारी निर्णय कार्यान्वयन नगर्न भनिसकेको छ । 

तर, सरकार अझै पनि अनुदार रवैया देखाएर अदालतको आदेश कार्यान्वयन गर्न आनाकानी गरिरहेको छ । महासंघ यसप्रति विरोध प्रकट गर्दछ ।’ 

उद्घोष दैनिकका सम्पादक तथा कार्यक्रमका सभापति मोहन भण्डारीले उद्घोषको २२ वर्षको यात्रा धेरै दृष्टिले चुनौतीपूर्ण रहेको तर त्यसलाई टिमले दृढतापूर्वक सामना गरेको उल्लेख गरे । 

‘मोफसलमा रहेर २२ वर्षदेखि दैनिक अखबार सञ्चालन गर्नु आफैमा ठूलो चुनौतीको विषय हो,’ भण्डारीले भने ‘यद्यपि पेशागत प्रतिबद्धता, त्यसको बलमा आर्जित पाठकको विश्वास र सबैको साथले यो यात्रा सम्भव भएको छ । यसलाई निरन्तरता दिन हामी प्रतिबद्ध रहनेछौं ।’

View : 37

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved