Biratnagar, Morang, Nepal
२८ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

वैश्विक नागरिक शिक्षा अभिमुखीकरण सुरु

उद्‌घोष संवाददाता
२७ असोज २०८३, मङ्गलवार

Advertisement

इनरुवा । कोशी प्रदेशका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका लागि पाँचदिने वैश्विक नागरिक शिक्षा अभिमुखीकरण कार्यक्रम सोमबारदेखि इनरुवामा सुरु भएको छ ।

नेपाल सरकारको शिक्षा विभाग, सानोठिमी भक्तपुरको आयोजनामा सञ्चालित कार्यक्रममा मोरङ, झापा, सुनसरी, उदयपुर, धनकुटा, इलाम, खोटाङ र पाँचथरलगायत जिल्लाका शिक्षक प्रतिनिधि सहभागी छन् । 

बदलिँदो विश्व परिवेशमा ‘विश्व एक हो, हामी सबै विश्व परिवारका सदस्य हौँ’ भन्ने अवधारणालाई विद्यालय तहसम्म पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा वरिष्ठ प्राविधिक अधिकृत रामचन्द्र ढकाल, वरिष्ठ प्रशिक्षक रेवन्त बस्नेत र प्रशिक्षक शान्तकुमार चौहानले सहजीकरण गर्नेछन् ।

कार्यक्रममा शिक्षा तालिम केन्द्र इनरुवाका प्रमुख यादवप्रसाद दुलालले व्यावहारिक ज्ञान, सीप र भावनाका माध्यमबाट विश्वका नागरिक एकै परिवारका सदस्य हुन् भन्ने सोच विकास गर्नुपर्ने बताए । 

विश्व अहिले साँघुरिँदै गएको र नेपालीहरू विश्वका विभिन्न कुनामा पुगिरहेको उल्लेख गर्दै उनले मानव अधिकार र श्रमको सम्मान विश्वव्यापी रूपमा स्थापित हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, वरिष्ठ प्राविधिक अधिकृत ढकालले लोकतान्त्रिक मूल्य र मान्यताअनुसार विद्यालय तहदेखि नै शिक्षा प्रदान गर्न शिक्षकहरूलाई आग्रह गरे ।  

अभिमुखीकरणमा सहभागी शिक्षकहरू बेणुप्रसाद सिग्देल, खेमचन्द्र सुवेदी, खेम लिम्बू, हरिप्रसाद पराजुली, डम्बर दनुवार, रमा भुजेल र देवीप्रसाद ढुंगेललगायतले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

शिक्षा तालिम केन्द्र इनरुवाका अनुसार कार्यक्रममा कोशी प्रदेशका ३१ जना शिक्षक सहभागी छन् ।

View : 29

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved