विराटनगर । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण हिमबाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङले ५४ लाख ६५ हजार ८३४ रुपैयाँ सहयोग प्रदान गरेको छ ।
रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि हिसान मोरङले आफ्ना सदस्य विद्यालय तथा कलेजबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको बुधबार पत्रकार सम्मेलनमार्फत जनाएको हो ।
हिसान मोरङका अध्यक्ष अमित ढकालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख ३३ हजार ५५५ रुपैयाँ र हिसानको केन्द्रीय समितिमार्फत थप २८ लाख ३२ हजार २७९ रुपैयाँ जम्मा गरिएको जानकारी दिए ।
विपद्का कारण धेरै नागरिकले ज्यान गुमाएको घटनाप्रति हिसान मोरङले दुःख समेत व्यक्त गरेको छ । विपद्को कठिन अवस्थामा पीडित नागरिकको उद्दार, राहत तथा पुनस्र्थापनाका लागि सरकारले सञ्चालन गरेको अभियानमा सहयोग गर्नु नागरिक तथा गैरसरकारी संस्थाहरूको सामाजिक दायित्व भएको जनाएको छ । सोही दायित्वअन्तर्गत संस्थागत योगदानका रूपमा राहत रकम उपलब्ध गराइएको अध्यक्ष ढकालले बताए ।
राहत रकम संकलनमा अरनिको माध्यमिक विद्यालय, बीकेभीएम, मेरिल्याण्ड माध्यमिक विद्यालय, अर्किड माध्यमिक विद्यालय, कान्तिपुर माध्यमिक विद्यालय, सगरमाथा माध्यमिक विद्यालय, ग्रीनल्याण्ड माध्यमिक विद्यालय, रेड स्टार माध्यमिक विद्यालय, सन्स कलेज, भानु माध्यमिक विद्यालय, निहारिका कलेज, सिद्धार्थ माध्यमिक विद्यालय र लर्डबुद्ध कलेजलगायतका धेरै शैक्षिक संस्थाले महत्वपूर्ण योगदान गरेको जनाइएको छ ।
हिसान मोरङले विपद्को समयमा अग्रपंक्तिमा खटिएर उद्धार तथा राहतमा सक्रिय सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वयंसेवक तथा सामाजिक संस्थाहरूको योगदानको प्रशंसा गरेको छ ।
प्रभावित क्षेत्रका नागरिकलाई छिटो पुनस्र्थापित गर्न तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई तीव्रता दिन नेपाल सरकारसँग आग्रह गर्दै हिसान मोरङले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक विपद्मा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
View : 41
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved