Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

भोजपुर उद्योग वाणिज्य संघको अधिवेशन : व्यावसायिक उत्थानमा जोड

गोकुल भुजेल
२७ असार २०८२, शुक्रवार

भोजपुर । उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले महासंघले समग्र व्यापारिक क्षेत्रमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

भोजपुर उद्योग वाणिज्य महासंघको १४ औं साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष राउतले उद्यमी, व्यवसायी र व्यापारीहरूका समस्या समाधान गर्न तथा चुनौती व्यवस्थापन गर्न र उनीहरुलाई हौसला, प्रोत्साहन र प्रेरणा प्रदान गर्न संघ निरन्तर क्रियाशील रहेको बताए ।

राउतले निजी क्षेत्रले गरेको लगानीको सुनिश्चितता, दिगोपना, सुरक्षा एवं निरन्तरताका लागि उद्योग वाणिज्य संघले तिनीहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा अभिभावकीय भूमिका खेलिरहेको बताए । जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन खुकुरी लगायत साना तथा घरेलु उद्योगहरूको विकास र ब्रान्डिङ गर्न सरकारसँग आग्रह गरे ।

स्थानीय उद्यमी व्यवसायीहरूका समस्याबारे बोल्दै उनले प्राकृतिक प्रकोप, बाढी पहिरो, डुबानबाट हुने सम्भावित क्षति, नोक्सान एवं प्रभावका विषयमा सरकारले निजी क्षेत्रलाई विशेष सहयोग गर्न आवश्यक रहेको बताए । उनले निजी क्षेत्रको व्यावसायिक ज्ञान, सीप र रोजगार विकासमा विशेष सहयोग गर्न सरकारलाई आग्रह समेत गरे ।

राउतले आफ्नो जन्मथलो समेत भोजपुर भएको उल्लेख गर्दै भोजपुरको टेम्केमैयुङ, साल्पापोखरीको प्रवर्धन गरी ख्याती कमाएको भोजपुरे खुकुरीका माध्यमबाट विश्वसामु चिनाउन उद्योग वाणिज्य संघको भूमिका महत्त्वपूर्ण हुने बताए ।

महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले राज्यको तीनखम्बे अर्थनीतिअनुसार निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य संघलाई सरकारले सारथीका रूपमा लिएर अगाडि बढ्न आग्रह गरे । उनले सरकारलाई देशमा रहेका उद्योग र उद्यमी व्यवसायीको अवस्था पहिचान गरी तिनीहरूका समस्या समाधान गर्न आग्रह गरे ।

केन्द्रीय सदस्य उमेश डालमियाले पछिल्लो समय उद्यमी, व्यवसायी र व्यापारीहरू आफ्नो व्यापार व्यवसायबाट पलायन भइरहेको उल्लेख गर्दै यसमा उद्योग वाणिज्य संघ र सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरी व्यवसायी पलायन रोक्नुपर्ने बताए । उनले निजी क्षेत्र आर्थिक वृद्धि र विकासको संवाहक भएकाले सरकारले व्यापार, व्यवसायमा कर, राजस्व, ब्याजदर, मुद्रा तरलता र मौद्रिक नीतिमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

भोजपुर जिल्ला प्रदेश क्षेत्र नं. २ का सांसद एवं नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवाले सरकारले बनाउने आर्थिक नीति, मौद्रिक नीति नियममा निजी क्षेत्रको अपनत्वसहित लगानीमैत्री एवं व्यापार व्यवसायमैत्री नीति, नियम बनाउन आफूले पहल गरेको बताए । उनले भोजपुर पर्यटन, उद्योग, कृषि, यातायात, विद्युत् लगायत जुनसूकै क्षेत्रमा सम्भावनायुक्त जिल्ला भएकाले यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान समेत गरे ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले उद्योग वाणिज्य संघले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी संघीय संरचनाअनुसार संघलाई विस्तार गरी व्यवसायिक हितका काम गर्न आग्रह गरे । उनले नयाँ बन्ने कार्यसमितिलाई त्रिवर्षीय योजना बनाई कार्य गर्नसमेत सुझाव दिएका थिए ।

संघका निवर्तमान अध्यक्ष तथा कोशी प्रदेश सदस्य ध्रुव श्रेष्ठले आफ्नो कार्यकालमा उद्योग वाणिज्य संघको भवन निर्माण, कोभिड लगायत प्राकृतिक विपद्को बेला गरेको योगदानको चर्चा गर्दै संघलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजान आग्रह गरे । उनले सर्वसम्मत कार्यसमिति चयन गरी संघलाई जिल्लाव्यापी बनाउन आग्रह गरे ।

अर्का निवर्तमान अध्यक्ष डम्बर श्रेष्ठले आफू ६ वर्षसम्म उद्योग वाणिज्य संघको नेतृत्वमा रहेर गरेको अनुभव सुनाउँदै संघलाई अहिलेको अवस्थामा आइपुग्न उल्लेख काम गरेको बताए । 

साधारण सभामा धनकुटा, संखुवासभा, उदयपुर लगायत विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षहरु, नगरपालिका एवं गाउँपालिकाका अध्यक्ष, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षहरू तेज मोक्तान, विनोद श्रेष्ठ, डम्बर श्रेष्ठ र ध्रुव श्रेष्ठलाई सम्मान गरिएको थियो ।

आइतबार निर्वाचन तय

यसैबीच,  भोजपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन हुने भएको छ । असार २९ गते बिहान आइतबार ८ बजेदेखि निर्वाचन हुने घोषणा गरिएको हो । 

निर्वाचनमा वर्तमान अध्यक्षको समर्थनमा निर कुमार विश्वकर्माको समूह र अर्को समूहबाट बद्री कुमार श्रेष्ठको समूहबीच प्रतिस्पर्धा हुँदैछ । 

संघको सचिव पदमा भने स्वतन्त्र उम्मेदवार विमल रणपहेंलीको उम्मेदवारी छ । निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको उद्योग वाणिज्य संघ भोजपुरका वर्तमान अध्यक्ष कर्ण मोक्तानले जानकारी दिए । उक्त निर्वाचनमा ३२० जनाले मतदान गर्ने जनाइएको छ ।

View : 596

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved