विराट ट्रेड फेयरमा चार दिनमै ३० हजार दर्शक
श्यामलाल पौडेल (भवेश), संयोजक, विराट ट्रेड फेयर
विराटनगर । विराटनगरमा जारी विराट ट्रेड फेयरमा चार दिनमै ३० हजार जनाले अवलोकन गरेका छन् । विराट व्यापार संघको आयोजनामा विराटनगरको मेनरोडस्थित जैन भवनमा असोज २२ गतेदेखि सुरु भएको मेलामा अवलोकनकर्ताको चहलपहल बढेसँगै स्टल व्यवसायीसमेत उत्साहित भएका छन् ।
आयोजक विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलका अनुसार मेलामा विराटनगर तथा आसपासका क्षेत्रबाट उल्लेख्य संख्यामा सर्वसाधारण सहभागी भइरहेका छन् । असोज ३० गतेसम्म सञ्चालन हुने मेलामा उपभोक्ताले विभिन्न वस्तु अवलोकन तथा खरिद गर्न पाउनेछन् ।
मेलामा घरेलु उत्पादन, खाद्य सामग्री, इलेक्ट्रोनिक्स सामान, सरसफाइ तथा स्वास्थ्यसँग सम्बन्धित सामग्रीलगायतका वस्तुका स्टल राखिएका छन् । मेलामा किनमेल गर्न आउने उपभोक्ताको संख्या बढ्दै गएपछि व्यवसायीले पनि सन्तोषजनक व्यापार भइरहेको प्रतिक्रिया दिएका छन् ।
घरेलु अचारको स्टल राखेका आरएमडी अचार उद्योग उर्लाबारीका सञ्चालक मनोहरि दाहालले सुरुका दुई दिनको तुलनामा पछिल्ला दुई दिन व्यापार राम्रो भएको बताए । उनका अनुसार यस्ता मेलाले घरेलु उत्पादनलाई उपभोक्तासमक्ष पुर्याउन र बजार विस्तार गर्न सहयोग गर्छन् ।
‘सुरुका दुई दिन बिक्री अपेक्षाकृत कम थियो । पछिल्ला दुई दिन भने व्यापार सन्तोषजनक छ,’ दाहालले भने, ‘यस्ता मेलाले घरेलु उत्पादनको प्रवर्द्धनमा सहयोग पुर्याउँछन् ।’
मेला संयोजक तथा विराट व्यापार संघका वरिष्ठ उपाध्यक्ष श्यामलाल पौडेल (भवेश)ले पहिलो दिनदेखि नै मेला उत्साहजनक रूपमा अघि बढेको बताए ।
उनका अनुसार शनिबार बिदाको दिन अवलोकनकर्ताको अत्यधिक भीड लागेको थियो । भीडका कारण कतिपयले मेला अवलोकन नगरी फर्कनुपरेको उनले बताए । ‘स्टल व्यवसायीबाट पाएको प्रतिक्रियाअनुसार यो मेला मनोरञ्जनभन्दा किनमेलका दृष्टिले अहिलेसम्मकै राम्रो भएको छ,’ पौडेलले भने, ‘सुनसानजस्तै हुँदै गएको विराटनगरलाई गुल्जार बनाउने हाम्रो प्रयास केही हदसम्म सफल भएको छ । ’उनले मेलामा बिहान ११ बजेबाटै किनमेल सुरु हुने गरेको बताए । उपभोक्तालाई सहज रूपमा सामान छनोट गरी खरिद गर्न बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय उपयुक्त हुने उनको सुझाव छ ।
मेलामा इलेक्ट्रोनिक्स सामानको स्टल राखेका अरुण इलेक्ट्रोनिक्सका सञ्चालक अरुण तोदीले व्यापार मेलाले व्यवसायमा केही हदसम्म भए पनि ऊर्जा थपेको बताए । आर्थिक गतिविधिमा सुस्तता देखिएको अवस्थामा यस्ता मेलाले व्यवसायीलाई उपभोक्तासँग प्रत्यक्ष जोडिन र बजारमा आफ्नो उपस्थिति बढाउन सहयोग पुग्ने उनले बताए ।
त्यस्तै, हिमगिरी हाइजिन लिमिटेडका प्रतिनिधि अखिलेशकुमार दासले मेला अवधिभर कम्पनीका उत्पादनमा विभिन्न अफर उपलब्ध गराइएको बताए । अफरका कारण ग्राहकको आकर्षण बढेको र स्टलमा उल्लेखनीय भीड लागेको उनले जानकारी दिए ।
विराटनगरमा व्यापारिक गतिविधि बढाउने, उपभोक्तालाई एउटै स्थानमा विभिन्न वस्तु अवलोकन तथा खरिद गर्ने अवसर प्रदान गर्ने र स्थानीय बजारमा चहलपहल बढाउने उद्देश्यले आयोजित मेलामा पछिल्ला दिनमा देखिएको सहभागिताले आयोजक तथा व्यवसायीलाई उत्साहित बनाएको छ । असोज ३० गतेसम्म सञ्चालन हुने मेलामा आगामी दिनमा पनि ग्राहकको आकर्षण कायम रहने अपेक्षा गरिएको संयोजक पौडेलले बताए ।
View : 60
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved