Biratnagar, Morang, Nepal
१८ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकप्रति कोशी प्रदेशसभाद्वारा शोक प्रस्ताव पारित

उद्‌घोष संवाददाता
१७ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति कोशी प्रदेशसभाले गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

प्रदेशसभाको बुधबार बसेको बैठकले बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो ।

प्रदेशसभाबाट पारित शोक प्रस्तावमा बाढीबाट प्रभावित तथा घाइते नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह पनि गरिएको छ ।

त्यसैगरी, बाढीबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा प्रभावित नागरिकहरूको पुनस्र्थापनाका लागि आवश्यक पहल गर्नसमेत सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गरिएको हो ।

बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उपसभामुख श्रृजना दनुवारले प्रस्तावलाई हात उठाएर पारित भएको संकेत गरिदिन आग्रह गरेकी थिइन् । त्यसपछि सभाबाट उक्त शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको उनले जानकारी गराइन् । 

शोक प्रस्ताव अघि प्रदेश सभाले घटनामा ज्यान गुमाएका नागरिकहरुको स्मरण गर्दै एक मिनेट मौन धारण समेत गरेको थियो ।

भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्रभावकारी बनाउन प्रदेशसभाको शुन्य तथा विशेष समयमा बोल्ने सांसदहरुले सबै तहका सरकार तथा निकायलाई ध्यानाकर्षण गराएका छन् ।

View : 58

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved