Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

सन्दर्भ : चौथो अन्तर्राष्ट्रिय प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स दिवस

कोशी प्रदेशमा प्रोस्थेटिक्स एण्ड अर्थोटिक्सको अवस्था

१८ कार्तिक २०८२, मङ्गलवार

कात्तिक १९ गते गते, अन्तर्राष्ट्रिय प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स दिवस,  हरेक वर्ष नोभेम्बर ५ मा अन्तर्राष्ट्रिय कृत्रिम अङ्ग तथा सहायक उपकरण (अंग्रेजीमा प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स) दिवस मनाइन्छ । यो दिवसले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा पुनः आत्मविश्वास, स्वाभिमान र स्वतन्त्रता ल्याउने सेवामा समर्पित प्रोस्थेटिस्ट र अर्थोटिस्ट (प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स प्राविधिक)  हरूलाई सम्मान प्रकट गर्ने अवसर प्रदान गर्छ ।

यस अवसरमा सहायक प्रविधिका नवीनता, सुगमता र प्रभावकारितालाई उजागर गरिंदै, अपाङ्गता भएका व्यक्तिहरूको स्वावलम्बन, समान अवसर र जीवन गुणस्तर सुधारमा प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स (पी एण्ड ओ)  सेवाको महत्त्वपूर्ण योगदान स्मरण गरिन्छ । यो दिवसले हामी सबैलाई भौगोलिक सीमाभन्दा पर रहेर पनि गुणस्तरीय पुनस्र्थापना सेवा सबैका लागि उपलब्ध गराउने प्रेरणा दिन्छ, जसले सामाजिक समावेशिता र समानतामूलक समाज निर्माणतर्फ सशक्त कदम चाल्न उत्प्रेरित गर्छ ।

पी एण्ड ओ  सेवामा संलग्न पेशाकर्मीहरूको अटूट समर्पण, पेशागत दक्षता र निरन्तर प्रगतिप्रतिको प्रतिबद्धताले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा पुनः आत्मविश्वास, स्वाभिमान र पूर्णताको अनुभूति दिलाएको छ ।

यो दिवसले हरेक वर्ष पी एण्ड ओ  सेवाको अपरिहार्य महत्त्व स्मरण गराउँदै, यस क्षेत्रमा योगदान पु¥याउने सबैप्रति गहिरो सम्मान प्रकट गर्न र भविष्यमा अझै प्रभावकारी, समावेशी र पहुँचयोग्य सेवा प्रणाली विकास गर्ने दृढ सङ्कल्प गर्न प्रेरित गर्छ ।

प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स  सेवाको परिचय
कृत्रिम अङ्ग (प्रोस्थेटिक्स )  ः शरीरको कुनै अङ्ग (जस्तै : हात वा खुट्टा) गुमेपछि, त्यसको कार्य र आकार पुनस्र्थापना गर्न शरीरको बाहिरी भागमा प्रयोग गरिने विशेष उपकरण । यसले प्राकृतिक अङ्गको स्थानमा काम गर्दै व्यक्तिलाई दैनिक क्रियाकलापमा सक्षम बनाउँछ (उदाहरणः कृत्रिम हात, कृत्रिम खुट्टा ।)

सहायक उपकरण (अर्थाेटिक्स) : स्नायु, मांशपेशी र हाडजोर्नी प्रणालीमा उत्पन्न भएका संरचनात्मक वा कार्यात्मक समस्याहरूको रोकथाम, सुधार, संरक्षण तथा व्यवस्थापन गर्न शरीरको बाहिरी भागमा प्रयोग गरिने विशेष सहायक उपकरण । यसले शरीरको गति, स्थिरता र कार्यक्षमतामा सहयोग पुर्‍याउँछ (उदाहरणः क्यालिबर ब्रेस, एङ्कल फुट अर्थोसिस ।)

प्रोस्थेटिस्ट तथा अर्थोटिस्ट : मान्यता प्राप्त विश्वविद्यालय वा अनुसन्धान केन्द्रबाट प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स (पी एण्ड ओ) सम्बन्धी निर्धारित पाठ्यक्रम उत्तीर्ण गरी प्राविधिक दक्षता र ज्ञान हासिल गरेका प्राविधिक हुन् । यिनीहरूले अपाङ्गता भएका व्यक्तिहरूको कार्यक्षमता, गतिशीलता र जीवन गुणस्तर सुधार गर्ने उद्देश्यका साथ पुनस्र्थापना सेवा स्वतन्त्र रूपमा प्रदान गर्छन् ।

नेपाल र कोशी प्रदेशमा ‘पी एण्ड ओ’  सेवाको माग बढी  
स्वास्थ्य मन्त्रालयको विसं २०७९ सालको प्रतिवेदन अनुसार, नेपालमा हाल ३७ जना मात्र प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स (पी एण्ड ओ)  प्राविधिक कार्यरत छन् । नेपालमा औपचारिक शैक्षिक कार्यक्रम स्थापना नभएकाले अधिकांश प्राविधिक व्यक्ति विदेशी तालिम तथा बाह्य सहयोगी संस्थाहरूको सहयोगमा प्रशिक्षित भएका छन् ।

सरकारी उपेक्षा  ः सरकारी अस्पतालहरूमा प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स विभागको व्यवस्था छैन । हालका ‘पी एण्ड ओ’ सेवाहरू गैरसरकारी संस्था तथा निजी क्षेत्रका पुनस्र्थापना केन्द्रहरूमार्फत प्रदान गरिंदै आएका छन् ।

कोशी प्रदेशको अवस्था
कोशी प्रदेशमा पुनर्स्थापना सेवाको अवस्था अझै प्रारम्भिक चरणमै छ । पी एण्ड ओ सेवाको पहुँच अत्यन्तै सीमित छ र उपलब्ध सेवाहरू प्रदेशको सहरी क्षेत्र, विशेषतः विराटनगर र आसपासका शहरहरूमा मात्र केन्द्रित छन् ।

सरकारी अस्पतालहरूमा कृत्रिम अङ्ग तथा सहायक उपकरण (पी एण्ड ओ) विभाग वा समर्पित पुनर्स्थापना एकाइहरू स्थापित छैनन् ।

दक्ष प्राविधिक जनशक्ति, उपकरण र पूर्वाधारको अभावका कारण ग्रामीण तथा दुर्गम क्षेत्रका व्यक्तिहरूले आवश्यक सेवा पाउन कठिनाइ भोगिरहेका छन् ।
 

सेवाग्राहीको पीडा
अर्जुनधारा–८, झापाकी पुष्पा घिमिरे भन्छिन्, ‘मेरी नातिनीले सधैं कृत्रिम खुट्टा लगाउनै पर्ने हुन्छ ।  झापा जिल्लामा यस्तो सेवा नहुँदा मलाई निकै कठिनाइ हुन्छ । सामान्य मर्मतका लागि पनि नातिनीलाई लिएर म पाँच घण्टा यात्रा गरी सामुदायिक पुनस्र्थापना (सीबीआर) केन्द्र विराटनगर पुग्नुपर्छ । झापामै प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स केन्द्र भएको भए सजिलो हुने थियो ।’

कटहरी, मोरङकी अनिता मण्डल भन्छिन्, ‘मेरो १२ वर्षकी छोरीलाई सेरेब्रल पाल्सी  भएको कारणले अर्थोसिस लगाएर मात्र उभिन सकिन्छ । तर एउटा जोडी अर्थोसिस (सहायक सामग्री) फेर्नका लागि मैले एक वर्ष कुर्नु पर्छ । सहायक सामग्रीहरू पाउन यति गाह्रो किन छ भन्ने कुरा मैले बुझ्न सकेकी छैन ।’

विश्व स्वास्थ्य संगठनको मापदण्ड र जनशक्तिको अभाव  : विश्व स्वास्थ्य संगठनको सिफारिसअनुसार, कम आय भएका देशहरूमा प्रति दश लाख जनसंख्यामा ५ देखि १० जना पी एण्ड ओ प्राविधिक आवश्यक पर्दछ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको कुल जनसंख्या ४९ लाख ६१ हजार ४१२ छ । करिव ५० लाख जनसंख्या भएको कोशी प्रदेशमा सो सिफारिस अनुसार झण्डै ३५ देखि ९० जना पी एण्ड ओ प्राविधिक आवश्यक पर्छ । तर, कोशी प्रदेशमा हाल केवल ४ जना मात्र प्रमाणित प्रोस्थेटिस्ट र अर्थोटिस्ट ( पी एण्ड ओ प्राविधिक) कार्यरत छन् ।

यो तथ्यले कोशी प्रदेशमा पी एण्ड ओ प्राविधिक जनशक्तिको ठूलो अभाव रहेको स्पष्ट देखाउँछ र यस क्षेत्रमा जनशक्ति विकास, तालिम र सेवा विस्तारमा प्राथमिकता दिनु अपरिहार्य छ ।
 

सुधारका उपायहरू

नेपालमा सेवाको दिगो विकासका लागि निम्न सुधारहरू अपरिहार्य छन् ।

  •    सरकारी तहमा पहुँच र संरचना विस्तार : सरकारी अस्पतालहरूमा पी एण्ड ओ विभाग स्थापना गरी सबै नागरिकका लागि समान रूपमा पुनस्र्थापना सेवाको पहुँच सुनिश्चित गर्नु ।
  • दक्ष जनशक्ति उत्पादन : औपचारिक शैक्षिक कार्यक्रम स्थापना गरी देशभित्रै दक्ष जनशक्ति उत्पादन गर्नु ।

 

  •  सेवा विस्तार :  ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा सेवा पहुंच सुनिश्चित गर्न सरकारी र निजी क्षेत्रबीच सहकार्य बढाई, मोबाइल सेवा वा स्थानीय स्वास्थ्य संस्थाहरूमार्फत सेवा विस्तार गर्नु ।
  • उपयुक्त प्रविधिमा जोड : केवल सहयोग वा परीक्षणको रूपमा कृत्रिम अङ्ग वितरण गर्नुको सट्टा, स्थानीय सीप, उपकरण र सामग्री प्रयोग गरी कम लागतमा दीर्घकालीन रूपमा उपलब्ध गराउन सकिने उपयुक्त प्रविधिको छनोटमा जोड दिनु ।

अन्तर्राष्ट्रिय कृत्रिम अङ्ग तथा सहायक उपकरण (पी एण्ड ओ) दिवसले हामी सबैलाई समावेशी, पहुँचयोग्य र प्रभावकारी पुनर्स्थापना सेवा प्रणाली निर्माण गर्ने प्रेरणा प्रदान गर्छ ।

अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा आत्मनिर्भरता, स्वाभिमान र सम्मान ल्याउने यो सेवा प्रणालीलाई सुदृढ बनाउनु हामी सबैको साझा जिम्मेवारी र कर्तव्य हो ।   

(अम्बिका शर्मा शर्मा प्रोस्थेटिस्ट तथा अर्थोटिस्ट हुन् ।)

podcbrb@gmail.com

View : 493

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved