विराटनगर । मोरङको ग्रामथानमा खोलामा अनियन्त्रित दोहन रोकिएको छैन । अहिले खोलामा उत्खनन् बन्द भएपनि लोहन्द्र खोलामा भने डोजर लोडर कै प्रयोग गरी उत्खनन् जारी रहेको पाइएको स्थानीयले बताएका छन् ।
उनीहरूले प्रहरी प्रशासनमा समेत उत्खनन् भइरहेको जानकारी गराएको तर अहिलेसम्म खोला उत्खनन् नरोकिएको भन्दै आश्चर्यचकित भएको बताए ।
केहीदिन अघिमात्रै जनप्रतिनिधिहरूसहित स्थानीयले जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर उत्खनन् भइरहेको बारे प्रमुख जिल्ला अधिकारी समक्ष जानकारी गराएको तर अहिलेसम्म उत्खनन् रोक्न कुनै ठोस पहल नभएको बताए ।
स्थानीयका अनुसार ग्रामथान–६ स्थित पब्लिक माविको जग्गा लिज लिएर सोही जग्गामा तीब्र रुपमा उत्खनन् भइरहेको छ ।
‘अहिले खोला बन्दको समय हो, पब्लिक माविको जग्गामा माटो उत्खनन् भइरहेको जानकारी आएपछि हामीले गएर हेर्दा डोजरले खोला खनिरहेको देख्यौं, नजिककै क्रसरमा पनि ढुंगा माटो लगिएको छ, सिधै ट्याक्टरमा हालेर पनि बिक्री भइरहेको छ’ स्थानीयले भने, ‘यस्तो देखेपछि हामीले सिडियोमा गएर पनि कुरा राख्यौं, तर सुनुवाई कतैबाट हुँदैन, हाम्रो ठाउँमा त राज्य नै छैन कि जस्तो भइसक्यो ।’
उनीहरूका अनुसार स्थानीयले घरायसी प्रयोगका लागि एक ट्याक्टर माटो निकाल्दा पनि नदिने तर नजिकै रहेको विराट क्रसर उद्योग र चोरी निकासी गरी बिक्री वितरण गर्नेलाई भने कुनै कारवाही हुन नसकेको बताउँदै आएका छन् ।
उत्खनन् भइरहेको क्षेत्रमा पब्लिक माविको करीव ५१ बिघा जग्गा रहेको छ । उक्त जग्गा जनप्रतिनिधिकै दवावमा खोला उत्खनन् गर्ने समुहलाई लिजमा दिइएको छ ।
‘लिजमा दिंदा तरकारी खेती भनेर दिने तर पछि ढुंगा बालुवा माटो उत्खनन् हुने गरेको छ, प्रहरी प्रशासन पनि हाम्रो कुरा सुन्दैन, राज्यका निकाय नै यसैमा मिलोमतो गरिरहेका छन् भन्ने आशंका छ ।’ स्थानीयले भने ।
View : 111
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved