Biratnagar, Morang, Nepal
१७ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा प्रदेश राजधानीको संरचना बनाउने जग्गा खै ? : मुख्यमन्त्री कार्की

उद्‌घोष संवाददाता
१६ भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश राजधानी विराटनगर तोक्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै प्रदेश राजधानीको संरचना निर्माणका लागि आवश्यक जग्गा भने प्राप्त हुन नसकेको गुनासो गरेका छन् ।

सोमबार मोरङ उद्योग व्यापार संघको ६९औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विराटनगरमै प्रदेश राजधानीका संरचना निर्माण गर्न जग्गा आवश्यक भए पनि हालसम्म जग्गा प्राप्त गर्न नसकिएको बताए । 

जग्गा खोज्ने क्रममा बाहिर जान खोज्दा स्थानीयस्तरबाटै विरोध हुने तर जग्गाको विकल्प भने कतैबाट नआउने अवस्था रहेको उनले गुनासो गरे ।

प्रदेश राजधानी विराटनगरमै निर्माण गरेर त्यसलाई गति दिने कि नदिने भन्ने विषयमा विराटनगरवासी र निजी क्षेत्रले समेत पहल गर्नुपर्नेमा उनले जोड दिए । आफू अहिले मुख्यमन्त्रीको जिम्मेवारीमा रहेको र बाँकी कार्यकाल एक वर्षभन्दा कम रहेको उल्लेख गर्दै उनले राजधानी निर्माणको कामलाई गति दिन सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई तर्साएर मुलुकको आर्थिक विकास सम्भव नहुने बताएका छन् । पछिल्लो समय सरकारले निजी क्षेत्रप्रति अनुदार व्यवहार गरेको गुनासो बढिरहेको भन्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले मुलुकमा एकातिर ‘ब्रेन ड्रेन’ भइरहेको र अर्कोतिर निजी क्षेत्रलाई तर्साउने हो भने ‘मनी ड्रेन’ को खतरा पनि बढ्ने बताए । निजी क्षेत्रलाई निरुत्साहित र भयभीत बनाउने खालका गतिविधिले मुलुकलाई झनै समस्यामा पार्ने उनको भनाइ थियो ।

‘ब्रेन ड्रेन’ रोक्न नसकिरहेको अवस्थामा पुँजी पलायनसमेत बढे मुलुकको आर्थिक अवस्था थप कमजोर हुने कार्कीले संकेत गरे । 

मुख्यमन्त्री कार्कीले मुलुकले लामो समयदेखि शक्तिशाली राजनीतिक दल र शक्तिशाली प्रधानमन्त्री पाए पनि विराटनगरको विकासका लागि आवश्यक ठूला पूर्वाधार निर्माण गर्न नसकेकोमा समेत असन्तुष्टि व्यक्त गरे । 

उनले विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन नसकेको, अन्तर्राष्ट्रिय सभा–सम्मेलन गर्न सकिने पूर्वाधार बन्न नसकेको र औद्योगिक प्रतिष्ठानहरूको प्रदर्शन केन्द्रसमेत निर्माण गर्न नसकिएको बताए ।

विराटनगरबाट मानिसहरू काठमाडौँ, अन्य सहर तथा तेस्रो मुलुकतर्फ जाने क्रम बढिरहेको उल्लेख गर्दै उनले यसलाई दुःखद् अवस्थाका रूपमा चित्रण गरे ।

प्राकृतिक विपत्ति, कमजोर पूर्वाधार, बढ्दो व्यापार घाटा, जनशक्ति पलायन र सम्भावित पुँजी पलायनजस्ता विषयले मुलुकको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको बताउँदै उद्योगी–व्यवसायीलाई कोशी प्रदेशको विकासमा सहभागी हुन खुला आह्वानसमेत गरे । उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै प्रदेश तथा मुलुकको आर्थिक विकासलाई गति दिन सकिने बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले अहिले संघीय सरकारभन्दा प्रदेश सरकारहरूसँग काम गर्न सहज भएको बताए । उनले प्रदेश सरकार नजिकको दाजुभाई जस्तो सजिलो भएको बताए । 

सोही कारण उद्योगी व्यवसायीको हकहितसम्बन्धि नीति नियम बनाउन र परिमार्जन गर्न संघभन्दा प्रदेश र स्थानीय सरकारसँग सजिलो हुने गरेको टिप्पणी गरे ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले भदौ १० गतेको विनासकारी बाढीले मुलुकको ठुलो अर्थतन्त्र प्रभावित भएको बताए । संघ र संगठनले विगतदेखि नै औद्योगिक क्षेत्रका सवालमा साझा रुपमा काम गर्दै आएको अनुभव सुनाए । सरकारले उद्योगी व्यवसायीलाई हतोत्साहित पार्ने र धरपकड गर्ने कार्यले निरास बनाएको गुनासो पनि गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नविन रिजाल र पूर्वअध्यक्ष सुरेश शर्माले आर्थिक क्षेत्रका जल्दाबल्दा समस्या र आफुहरूले संघको नेतृत्व गर्ने क्रममा गरेका कामबारे स्मरण गरेका थिए । 

साधारण सभाको अवसरमा संघले उत्पतिको प्रमाणपत्रका आधारमा सवैभन्दा धेरै निर्यात प्रवद्र्धन गर्ने उद्योगी व्यवसायीहरुलाई सम्मानित गरिएको थियो ।

View : 143

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved