विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ लले कानूनमा स्नातकोत्तर तहको अध्यापन शुरू गरेको छ । स्नातकोत्तर तहमा अध्ययनका लागि ७७ जनाले प्रवेश परीक्षा दिएका छन् ।
क्याम्पसले ५० जनालाई भर्ना गरी अध्यापन गर्ने निर्देशक महेश प्रसाद निरौलाले जानकारी दिए ।
दुई वर्षे स्नातकोत्तर तहको कार्यक्रम सञ्चालका लागि धेरै अघिदेखि विद्यार्थीहरूबाट माग हुँदै आएपनि विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि अध्यापन शुरु गर्ने निर्णय गरेको हो ।
आंगिक क्याम्पसमा कानूनमा स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन नहुँदा विद्यार्थीहरु महङ्गो शुल्क तिरेर निजीमा पढ्न बाध्य थिए ।
आंगिक क्याम्पसले नै स्नातकोत्तर तहको कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीले कम शुल्कमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर आएको निरौलाले बताए ।
कानूनमा स्नातकोत्तर तहको अध्यापन साँझमा हुने भएकोले कानून व्यवसायी र विभिन्न कार्यालयमा कामगर्ने कर्मचारी लाभान्वित हुने बताइएको छ ।
कलेज अफ लले स्नातक तहको पाँचवर्षे बीए एलएलबी र तीनवर्षे एलएलबी कार्यक्रम सञ्चालन गर्दै आएको थियो । पाँचवर्षे बीए एलएलबी दिउँसो र तीनवर्षे एलएलबी कार्यक्रम साँझमा अध्यापन हुँदै आएको छ ।
View : 60
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved