सुनसरी । पशुमा बाँझोपनको समस्या ठूलो चुनौतिको रुपमा देखा परेको पशु चिकित्सकले बताएका छन् । कृषकहरुले सञ्चालन गरेका फर्ममा रहेका पशुहरुमा बाँझोपनको समस्या तिव्र रुपले बढिरहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा. मनोज कुमार महतोले बताएका छन् ।
नेपालमा सञ्चालनमा रहेका सानादेखि ठूला फर्मका पशुहरुमा बाँझोपनको समस्या प्रमुख रुपमा देखिने गरेको डा. महतोले बताए । यस्तो समस्या बर्षेनी बढ्दो क्रममा रहेको छ ।
सुनसरीमा सञ्चालनमा रहेका पशु फार्मका पशुहरुमध्ये २० देखि ३० प्रतिशत पशुहरुमा बाँझोपनको समस्या देखिएको डा. महतोको भनाइ छ । जिल्लाभर सञ्चालनमा रहेका फर्महरुमा अध्ययन तथा अनुगमन गर्दा यस्तो तथ्य प्राप्त भएको उनले बताए ।
पशुहरुमा बाँझोपनको समस्या देखिनुको मुख्य कारण पोषणको कमी रहेको छ । उन्नत र विकासे जातका पशुपालन गर्ने तर उनीहरुलाई चाहिने पोषण अनुसार आहारा दिन नसक्दा र नजान्दा पशुहरुमा बाँझोपनको समस्या देखिएको डा. महतोले जानकारी दिए ।
नेपालका अधिकांस पशुपालक कृषकहरुले पशुलाई पेट भर्नका लागि मात्रै खानेकुरा दिने गरेको, पौष्टिक तत्वको मात्रा मिलाएर खानेकुरा नदिदा त्यसको असर बाँझोपनमा देखिने गरेको चिकित्सकको भनाई छ ।
बाँझोपन हटाउन पशुलाई उनीहरुको वजन र अवस्था अनुसार पौष्टिक आहारा दिनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
सोमबार इटहरीमा सञ्चालनमा रहेको दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना किसानहरुलाई पशुमा लाग्ने समस्याको बारेमा अन्तरक्रिया गरेको छ ।
सुनसरी र मोरङका पशुपालक किसानलाई एकै ठाँउमा भेला गरी दुग्ध सहकारीले पशुमा लाग्ने समस्याको बारेमा प्रशिक्षण दिएको हो ।
किसानहरुलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख महतोले प्रशिक्षण दिएका थिए । उनले पशुमा देखिने बाँझोपनको समस्या र त्यसको समाधानका लागि पोषण आहाराको बारेमा किसानहरुलाई जानकारी दिए ।
प्रशिक्षणका क्रममा पनि अधिकांश किसानले पशुमा गर्भधानका क्रममा देखिएका समस्याको बारेमा जिज्ञासा राखेका थिए ।
संस्थाको ४३ औं स्थापना दिवसको अवसर पारेर दुग्ध सहकारी संस्थाले कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष खेमनाथ काफ्लेले जानकारी दिए ।
संस्थाले प्रत्येक बर्ष किसानहरुका लागि विभिन्न कार्यक्रम आयोजना गरी पशुपालनमा प्रोत्साहन गर्दै आएको अध्यक्ष काफ्लेले बताए ।
स्थापना दिवसको अवसर पारेर सर्वोत्कृष्ट किसानहरुलाई सम्मान पनि गरेको छ । सर्वोत्कृष्ट किसान पुरस्कारबाट संगीता पौडेल, उत्कृष्ट गोठ व्यवस्थापन गर्ने किसान लक्ष्मी अधिकारी, बढि दूध दिने भैंसीपालन पुरस्कार मनोज चौधरी र बढि दूध दिने गाईपालन पुरस्कार ऋषिकेश निरौलालाई प्रदान गरिएको छ ।
View : 74
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved