Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

त्रिवि उपकुलपतिमा दीपक अर्याल नियुक्त

२५ असार २०८२, बुधवार

विराटनगर । नेपालकै सबैभन्दा पुरानो तथा ठूलो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय (त्रिवि ) को उपकुलपति पदमा प्रा. डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपतिका लागि सिफारिस गरिएका तीन जनामध्येबाट अर्याललाई चयन गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री ओलीसमक्ष उपकुलपतिका लागि तीन जना प्राज्ञिक व्यक्तित्वहरूको नाम सिफारिस गरेको थियो। समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. दीपक अर्याललाई सिफारिस सूचीमा राखेको थियो।

त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि उपकुलपति पद रिक्त भएको थियो। त्यसपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका थिए। निमित्त उपकुलपतिको समयावधि सकिनुअघि नै नयाँ उपकुलपति नियुक्त भएका हुन्।

त्रिभुवन विश्वविद्यालयको नेतृत्वमा आएका प्रा. डा. अर्यालको कार्यकालमा विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान र प्रशासनिक सुधारमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।


View : 764

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved