संयुक्त विद्यार्थी संगठनको ध्यानाकर्षण
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बिहीबार भएको नेवि संघ मोरङका सभापतिमाथि भएको कुटपिटसँगै क्याम्पसका अन्य सात विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरी क्याम्पस प्रमुखले क्याम्पसलाई शान्त, भयरहित, विद्यार्थीलाई सहज रुपमा पढ्ने वातावरण बनाउन अनुरोध गरेको छ ।
संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘देशकै गौरवमयी शैक्षिक धरोहरको रुपमा रहेको यस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पछिल्लो समय शैक्षिक गतिविधि भन्दा मौद्रिक वातावरणमा खलल पुग्ने क्रियाकलाप भइरहेको प्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ ‘पछिल्लो समय स्ववियु निर्वाचन नजिकिदै गर्दा निर्वाचन केन्द्रित गतिविधि छलफल र सोही अनुसारको वातावरण हुनुपर्नेमा क्याम्पस प्रमुख आफै निर्वाचनप्रति गम्भीर नभएको प्रष्ट देखिएको छ ।
क्याम्पसमा शैक्षिक वातावरण बनाउने र निर्वाचन गराउने प्रमुख जिम्मेवारी क्याम्पस प्रमुखको हो तर क्याम्पस प्रमुखको गैर–जिम्मेवारी र असक्षमताले गर्दा क्याम्पसमा अराजकता मौलाएको छ । यदि क्याम्पस प्रमुखले क्याम्पसलाई शान्त, भयरहित, विद्यार्थीलाई सहज रुपमा पढ्ने वातावरण बनाउन असक्षम भएको हो भने तुरुन्त राजिनामा दिएर मार्ग प्रसस्त गर्न संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछौं।’
सो विज्ञप्तिमा हस्ताक्षर गर्नेहरुमा माधव पासवान अध्यक्ष अनेरास्ववियु, रोहित यादव अध्यक्ष अखिल क्रान्तिकारी, गिरेन्द्र यादव सहसंयोजक अनेरास्ववियू, राकेश यादव अध्यक्ष समाजवादी विद्यार्थी युनियन (नेपाल), भुवनेश्वर शाह अध्यक्ष अखिल (समाजवादी), हरेराम शर्मा अध्यक्ष नागरिक उन्मुक्ति र रुपेश सिंह अध्यक्ष विद्यार्थी जनमत संघ छन् ।
View : 730
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved