विराटनगर । मोरङ प्रहरीले २९ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
बुढिगंगा गाउँपालिका–३ मुडेरी रमाइलो टोलबाट शुक्रबार गाँजासहित उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा एकजना भारतीय नागरिक पनि छन् ।
भारतको जिल्ला अररिया–१२ का १९ वर्षीय मुन्नाकुमार पासवानसहित धनकुटाको साँगुरीगढी गाउँपालिका–७ बस्ने ३० वर्षीय मोहन राई र सुनसरीको दुहबी नगरपालिका–६ बस्ने २१ वर्षीय विशालकुमार पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको गस्ती टोलीले विराटनगरतर्फ आइरहेको प्रदेश १–०२–०४३ प ५३८५ नम्बरको पल्सर मोटरसाइकल तथा प्रदेश १–०२–४२ प २७३६ नम्बरको सुपर स्पेलेन्डर जाँच गर्दा उनीहरूको दुईवटा झोलाबाट गाँजा बरामद भएको जनाइएको छ ।
साथै उनीहरूको साथबाट ७३ हजार ५ सय ६० नगद र चारवटा मोबाइलसमेत बरामद गरेको प्रवक्ता जोशीले जानकारी दिए ।
पक्राउ परेका तीनैजना विरुद्ध लागुऔषध तस्करीको आरोपमा थप अनुसन्धान अघि बढाइएको जनाइएको छ ।
View : 60
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved