Biratnagar, Morang, Nepal
२९ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

कबड्डी ५ को ट्रेलर : नयाँ सोल्टिनीसँग बिहे, मैयाँसँग मिलन

उद्‌घोष संवाददाता
२८ असोज २०८३, बुधवार

Advertisement

विराटनगर । ‘कबड्डी’का श्रृंखलामा दर्शकले सबैभन्दा बढी सम्झिने पात्र हुन्, काजी र मैयाँ । सुरुका दुई श्रृंखलामा काजीले मैयाँलाई एकोहोरो प्रेम ग¥यो । त्यसपछिका दुई भागमा काजीको जीवनमा नयाँ सोल्टिनीहरू आए । 

अब भने ‘कबड्डी ५’ मा काजी र मैयाँको मिलन भएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलरले यसको खुलासा गरेको हो । 

चार मिनेटभन्दा लामो ट्रेलरमा धोका पाएर विरक्तिएको काजीको सपना र मैयाँको आगमनपछि आउने उतारचढावलाई देखाइएको छ । नयाँ सोल्टिनीसँग घरबार बसाएको काजीले मैयाँका लागि गर्ने त्याग नै ट्रेलरको मुख्य विषय हो । 

यसपटक काजीको जीवनमा अवरोध खडा गर्न विपिन कार्कीको आगमन भएको देखिन्छ । उनीहरूबीचको घम्साघम्सीले ट्रेलरलाई रोचक बनाएको छ ।

ट्रेलरको सुरुवातमा काजीले आफ्नो जीवनको सत्य स्वीकार गरिरहेको देखिन्छ । त्यसपछि ऊ गाउँमै रिसोर्ट खोल्ने योजना बनाउँछ । तर, बुवाले बिहेको अड्को थापेपछि काजी परिबन्धमा पर्छ । 

बिहेपछि जब काजीको भेट मैयाँ र शान्ति मिससँग हुन्छ, त्यसपछि कथाले नयाँ मोड लिएको देखिन्छ । समग्रमा ट्रेलरले काजीको जीवनमा आउने उथलपुथलको झलक दिन्छ । 

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, सुरज यादव, रमेश बज्राचार्य, ज्ञानु जोशीलगायतको अभिनय देख्न सकिनेछ । 

बाँसुरी फिल्मस्को प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्मातामा छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ । 

यो फिल्म दसैं विदाको अवसर पारेर टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गते प्रदर्शन हुँदैछ ।

View : 27

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved