Biratnagar, Morang, Nepal
१ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

ब्राइट भिजन ल कलेजमा दोस्रोपटक नमूना अदालत अभ्यास

उद्‌घोष संवाददाता
३१ साउन २०८३, आइतवार

Advertisement

विराटनगर । विराटनगरस्थित ब्राइटभिजन ल कलेजले विद्यार्थीमा कानुनी ज्ञानसँगै व्यावहारिक सीप विकास गर्ने उद्देश्यले दोस्रोपटक नमूना अदालत (मुटकोर्ट) अभ्यास आयोजना गरेको छ ।

मोफसलमा पहिलोपटक नमूना अदालत प्रतियोगिता आयोजना गरेको ब्राइटभिजनले यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको हो । प्रतियोगितामा कलेजमा सञ्चालित पाँचवर्षे बीए–एलएलबीका सबै ब्याचका विद्यार्थी सहभागी छन् ।

प्रतियोगितामा कलेजका १०४ विद्यार्थीलाई २६ समूहमा विभाजन गरी विभिन्न कानुनी मुद्दामा बहस गराइएको छ । 

प्रतियोगिताको पहिलो चरणबाट उत्कृष्ट आठ समूह दोस्रो चरणमा छनोट हुनेछन् । त्यसपछि क्वार्टरफाइनलमा चार समूहबीच प्रतिस्पर्धा हुनेछ भने अन्तिम चरणमा दुई समूहबीच उपाधिका लागि प्रतिस्पर्धा हुने कलेजले जनाएको छ ।

प्रतियोगितामा सरकारी तथा निजी क्षेत्रमा कार्यरत अधिवक्ताहरूलाई निर्णायकको जिम्मेवारी दिइएको छ । 

यसपटक कलेजका शिक्षकलाई निर्णायक नराखी बाह्य कानुन व्यवसायीबाट मूल्यांकन गराइएको कलेजले जनाएको छ । यसले प्रतियोगिताको मूल्याङ्कनलाई थप निष्पक्ष र व्यावहारिक बनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको विजेताले १३ हजार रुपैयाँ नगदसहित ट्रफी, उपविजेताले ७ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी तथा तेस्रो हुने समूहले ५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट बहसकर्तालाई ४ हजार रुपैयाँ र उत्कृष्ट बहस नोट तयार गर्ने एक जनालाई ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ ।

ब्राइटभिजन ल कलेजका प्रमुख तथा वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले कानुनका विद्यार्थीका लागि सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान पनि उत्तिकै आवश्यक भएकाले ‘मुटकोर्ट’ प्रतियोगितालाई निरन्तरता दिइएको बताए । 

मुटकोर्ट प्रतियोगितालाई पनि सोही अभियानअन्तर्गत विद्यार्थीको कानुनी अनुसन्धान, लिखित तथा मौखिक वकालत, तर्क प्रस्तुत गर्ने क्षमता र नेतृत्व विकास गर्ने महत्वपूर्ण माध्यमका रूपमा अघि बढाइएको आचार्यले बताए ।

यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै बहस गर्ने, मुद्दाको विषयमा गहन अध्ययन तथा अनुसन्धान गर्ने क्षमताको विकास गर्ने साथै, लिखित तथा मौखिक वकालतको सीप विकास गराई विद्यार्थीलाई दक्ष कानुन व्यवसायी बन्नसमेत सहयोग पुग्ने आचार्यको भनाइ छ । 

मुटकोर्टमा विद्यार्थीले मुद्दाको पक्ष र विपक्षमा रहेर कानुनी प्रावधान, नजिर, तथ्य तथा प्रमाणका आधारमा आफ्ना तर्क प्रस्तुत गर्ने भएकाले उनीहरूलाई अदालतमा हुने वास्तविक बहसको प्रारम्भिक अनुभवसमेत प्राप्त हुने कलेजको भनाइ छ । 

विद्यार्थीले बहसका क्रममा उठेका प्रश्नको जवाफ दिने, विपक्षीको तर्कको खण्डन गर्ने तथा आफ्नो पक्षलाई कानुनी आधारसहित बलियो बनाउने अभ्याससमेत गरिरहेका छन् ।

ब्राइटभिजन ल कलेज मोफसलमै कानुन अध्यापन गराउने अग्रणी संस्थाका रूपमा स्थापित भएको कलेजले जनाएको छ । 

कानुन शिक्षालाई कक्षाकोठामा सीमित नराखी विद्यार्थीलाई व्यावहारिक अभ्याससँग जोड्ने उद्देश्यले विभिन्न अतिरिक्त शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको कलेजले जनाएको छ ।

मोफसलमै पहिलोपटक कानुन अध्यापन गराउने कलेजका रूपमा स्थापित ब्राइटभिजनले कानुनका विद्यार्थीलाई अदालतमा हुने बहसको वास्तविक अभ्यास गराउने उद्देश्यले मुटकोर्ट प्रतियोगितालाई शैक्षिक गतिविधिको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाएको जनाएको छ ।

View : 24

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved