Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

सत्ता समीकरण फेरबदलको परिणाम

काँग्रेस कोशीमा मन्त्री बन्न दौडधुप सुरु, यी सांसद मन्त्री बन्ने लाइनमा

२१ असार २०८१, शुक्रवार

विराटनगर । संसद्का दुई ठूला दल काँग्रेस र एमालेले सत्ता सहयात्रा गर्ने सहमति गरेपछि केन्द्रसँगै प्रदेश सरकारहरुमा वद्लाव आउने निश्चितप्रायः छ । राजनीतिक अवस्थामा कुनै नाटकीय परिवर्तन नआए अबको केही दिनमा कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिनेछ भने काँग्रेसको सरकारमा ‘इन्ट्री’ हुनेछ । पार्टी सरकारमा सहभागी बन्ने निश्चित भएकै कारण कोशीका काँग्रेस सांसदहरुले मन्त्री बन्न दौडधुप थालेका छन् । 

पार्टीले केन्द्रदेखि प्रदेशसम्म एमालेसँग सत्ता सहकार्यको सहमति गरिसकेका कारण  काँग्रेसका कोशी प्रदेशसभा सदस्यहरुले दौडधुप थालेको उनीहरुले नै बताउन थालेका छन् । ‘अब सरकारमा जानु पर्यो नि, विराटनगर बसेर मात्रै मन्त्री भइन्न क्यारे त्यसैले काठमाडौंमा नेताका दैलो चहारिँदैछ’, माननीयज्यू कता हुनुहुन्छ भन्ने उद्घोषको प्रश्नमा काँग्रेसका एक सांसदले भने ‘म मात्रै हो र अरु धेरै सांसद काठमाडौतिरै डुलिरहेको देख्छु ।’ 

ती सांसदका अनुसार अब पुनःगठन हुने सरकारमा सामेल हुन प्रदेशका ‘हेभिवेट’ नेताहरुको दौडधुप धेरै छ । ‘अमृत अर्याल, भीम पराजुली लगायतका केन्द्रीय सदस्यदेखि प्रदेशका महामन्त्री भूपेन्द्र राईसम्म, प्रमुख सचेतक गोपाल तामाङदेखि इस्राइल मन्सुरीसम्मले मन्त्री बन्न लविइङ गरिरहेको बुझेको छु’, ती सांसदले भने ‘इलामका गोविन्द गिरी,ताप्लेजुङका खगेनसिंह हाङ्गाम, मोरङका मानबहादुर लिम्बूसम्म पनि मन्त्री बन्न इच्छुक देखिएका छन् ।’  महिला सांसदतर्फ मैया श्रेष्ठ पनि मन्त्रीको लाइनमा रहेको स्रोतले जनाएको छ ।

काँग्रेस कोशी प्रदेशसभामा  संस्थापन पक्षमै दुई गुट छ । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षधर सांसदहरु छन् भने संस्थापन इतर समूहमा शेखर कोइराला पक्षका सांसदहरु छन् । 

काँग्रेस नेताहरुका अनुसार यसपटक काँग्रेसमा यसअघि अवसर नपाएकाहरुलाई मौका दिनुपर्ने आवाज चर्को हुनेवाला छ । महामन्त्री गगन थापाले बिहीबार इटहरीमा बोल्दै सोही कुरा भनेका छन् ।

‘यसअघि अवसर पाएकाहरुलाई विश्राम दिने हो, घरैमा राख्ने हो’, थापाले भने । 

सभापति देउवाका कुनैबेलाका विश्वास पात्र रहेका मोरङका नेता अर्याल यसपटक मन्त्री बन्ने इच्छासहित सक्रिय बनेका छन् । दुई पटक विराटनगर महानगरको मेयर ताकेका अर्यालले स्थानीय चुनावमा टिकट नपाएपछि संघको टिकट चाहेका थिए । तर, गठबन्धनका क्रममा मोरङ ५ माओवादीको भागमा परेपछि उनलाई प्रदेशमा चुनाव लडाइएको थियो । 

अर्यालले आफूलाई मुख्यमन्त्री बनाउने वाचासहित प्रदेशमा जबरस्ती चुनाव लडाइएको तर पछि नेताहरुबाट धोका भएको बताउँदै आएका छन् ।

हुन पनि संसदीय दलको नेता लड्दा उनी जम्मा २ मत मात्रै पाएर तेस्रो बनेका थिए । समर्थक र प्रस्तावककै पनि सबै मत नपाएका उनी पछिल्लोपटक केदार कार्की मुख्यमन्त्री बन्दा उनलाई हटाउने अभियानको नेतृत्वकर्ता थिए । यद्यपि गठबन्धन परिवर्तन भएपछि कार्की सरकार आफै ढल्यो । 

अर्यालले यसपटक प्रदेशमा महत्वपूर्ण मन्त्रालय दाबी गर्ने तयारी गरेको उनी निकटहरु बताउँछन् । विराटनगरका पूर्व मेयरसमेत रहेका केन्द्रीय सदस्य भीम पराजुली पनि मन्त्री बन्ने दौडमा छन् ।

सिटौला समूहबाट पराजुली, प्रदेश महामन्त्री भूपेन्द्र राई, प्रमुख सचेतक गोपाल तामाङ मन्त्री बन्ने दौडमा लागेको काँग्रेस स्रोतको भनाइ छ । देउवा समूहबाट यसअघि पटक पटक मन्त्री भइसकेका केन्द्रीय सदस्य प्रदीप सुनुवार पनि दाबेदार छन् । तर, पटकपटक एकै व्यक्तिले अवसर पाउन नहुने मत काँग्रेसभित्र बलियो छ । देउवा समूहकै इस्राइल मन्सुरी, खगेनसिंह हाङ्गाम पनि मन्त्री बन्ने लविङमा रहेको स्रोतको भनाइ छ ।  

संस्थापन इतर समूहका ८ मध्ये ६ जना यसअघि सरकारमा सामेल भइसकेका छन् । अब यो समूहबाट मन्त्री बन्न बाँकी रहेका दुई सांसदहरुमध्ये इलामका गोविन्द गिरी र मोरङका मानबहादुर लिम्बू हुन् ।

यद्यपि यसअघि छोटो अवधि मात्रै काम गर्न पाएको भन्दै उदयपुरका रामकुमार खत्रीले पनि दाबी अघि सारेको शेखर समूहका एृक सांसदले बताए । दाबी गर्नेहरु धेरै भएको तर मन्त्रालय संख्या कम हुने भएपछि यसपटक काँग्रेस कोशीमा भागवन्डा जटिल बन्ने देखिएको छ । अहिले कोशीमा माओवादीले तीन मन्त्रालय लिएको छ । काँग्रेस सरकारमा सहभागी बन्दा उसले माओवादीभन्दा धेरै संख्या पाउने नेताहरु बताउँछन् । 

त्यसो त काँग्रेस र एमालेले सत्ता सहयात्राको सहमति गरेको तीन दिन बितिसक्दा पनि कोशीमा यी दुई दलबीच कुनै औपचारिक संवाद भएको छैन । नयाँ गठबन्धनका दुई दलबीच  आपसी संवाद सुरु नै नभइ काँग्रेसभित्र मन्त्री बन्न दौडधुप सुरु भइसकेको हो । 

प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका काँग्रेस संसदीय दलका नेता उद्धव थापाले केन्द्रको सहमति अनुसार प्रदेश सरकारमा काँग्रेस जाने निश्चित भए पनि अहिलेसम्म एमालेसँग छलफल सुरु नभएको बताए ।

‘हामी प्रदेश सरकारमा जाने त निश्चितै छ’, थापाले भने ‘तर, अहिलेसम्म प्रदेशमा एमालेसँग र मुख्यमन्त्रीसँग कुनै छलफल भएको छैन । यसबारे छलफल अब प्रधानमन्त्रीले राजीनामा दिएपछि वा विश्वासको मतको सामना गरेपछि सुरु होला ।’ 

नेता थापाले एमालेसँग संवाद सुरु नभएको बताइरहँदा उनको दलका सांसदहरुले भने नयाँ सरकारमा मन्त्री बन्नका लागि नेताहरु गुहार्न थालिसकेका छन् । ‘कोशी प्रदेशसभामा काँग्रेसका तीन गुटका सांसदहरु छन्’, काँग्रेस कोशीका एक सांसदले भने ‘तीन वटै गुटका सांसदहरुले आफ्नो गुटको केन्द्रमा लविइङ थालिसकेका छन् ।’

संस्थापन पक्षबाटै मन्त्रीका एक प्रमुख दाबेदार हुन् संसदीय दलका उपनेता हिमाल कार्की । काँग्रेस उदयपुरका सभापतिसमेत रहेका कार्की देउवा निकट नेता हुन् । उनी यसपटक मन्त्री बन्नेहरुमध्येका एक मुख्य दाबेदार रहेको काँग्रेस नेताहरु बताउँछन् ।

View : 569

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved