विराटनगर । कुनै समय मोरङ–५ का गाउँ–बस्तीमा एउटा नाम निकै आदरका साथ उच्चारण हुन्थ्यो–‘जोगीसर’ । वास्तविक नाम योगेन्द्र मण्डल भए पनि स्थानीयले उनलाई नामभन्दा बढी यही सम्बोधनले चिन्थे ।
गाउँका गरिब महिलालाई दैनिक १ देखि १० रुपैयाँसम्म बचत गर्न सिकाउँदै लघुवित्तको सञ्जाल विस्तार गर्ने, गाउँमै विद्यालय र अस्पताल स्थापना गर्ने, हजारौंलाई रोजगारी दिने । यी कामहरूले उनलाई धेरैका नजरमा ‘सेवक’ मात्र होइन, भरोसाको प्रतीक बनाएका थिए ।
तर राजनीति सधैं स्थिर रहँदैन । समयसँगै मतदाताको अपेक्षा, राजनीतिक वातावरण र विकल्पहरू पनि बदलिन्छन् । यही परिवर्तनको लहरमा यसपटकको प्रतिनिधिसभा निर्वाचनले मोरङ–५ को राजनीतिक तस्वीर नै फेरिदिएको छ ।
यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशा झा भारी मतान्तरसहित विजयी भएकी छिन् ।
अघिल्लो निर्वाचनमा यही क्षेत्रमा स्वतन्त्र उम्मेदवार भएर योगेन्द्र मण्डलले जितेका थिए । जुन जितले उनलाई पार्टी गठन गर्नेसम्मको हौसला दिएको थियो ।
कुनै समय यस क्षेत्रको सबैभन्दा भरोसायोग्य नाम मानिने योगेन्द्र मण्डल अर्थात् ‘जोगीसर’ भने यसपटक पाँचौ स्थानमा सीमित भए । उनले आफ्नो नयाँ दल राष्ट्रिय ऊर्जाशील पार्टी बाट उम्मेदवारी दिंदै ४ हजार १९९ मत मात्र प्राप्त गरे ।
योगेन्द्र मण्डलको यात्रा परम्परागत राजनीतिबाट सुरु भएको होइन । २०५२ सालमा बीएस्सी उत्तीर्ण गरेपछि उनले विराटनगर छाडेर मोरङको तत्कालीन अमाही बरियाती गाविसमा विद्यालय नजाने बालबालिकालाई निःशुल्क ट्युसन पढाउन थाले । यही सानो पहलबाट उनको सामाजिक अभियान सुरु भएको मानिन्छ ।
त्यही अभियान विस्तार हुँदै आजको जीवन विकास पब्लिक स्कुल बनेको छ । न्यूनतम शुल्कमा अंग्रेजी माध्यममा पढाइ हुने विद्यालय । विद्यालयलाई दीगो बनाउन उनले १० करोड रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका छन् ।
२०५४ सालमा उनले ‘जीवन विकास समाज’ स्थापना गरे । यस संस्थामार्फत शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन हुँदै गाउँगाउँसम्म उनको पहुँच बढ्यो । ग्रामीण शिक्षामा गरेको योगदानका कारण स्थानीयले उनलाई आदरपूर्वक ‘जोगीसर’ भन्न थाले ।
उनको अगुवाइमा अहिले ३ सय शैयाको अस्पताल निर्माणाधीन छ भने सय शैयाको अस्पताल सञ्चालनमा छ ।
कृषि फार्म, व्यावसायिक भैंसीपालन, दूध डेरी, पिउने पानी उद्योग र निर्माण सामग्री उत्पादन गर्ने ब्लक उद्योग जस्ता परियोजनाहरू पनि सञ्चालनमा छन् । यी सबैबाट झण्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कृषिलाई व्यवसायिक बनाउने उद्देश्यले उनले यान्त्रिकीकरण अभियानसमेत चलाए । शिक्षा क्षेत्रमा गरेको योगदानका लागि उनले ३ लाख अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय पुरस्कार र स्वदेशमा १५ लाख रुपैयाँ राशिको सम्मान पनि प्राप्त गरेका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका थिए । सत्ता गठबन्धन र एमाले–जसपा तालमेलका उम्मेदवारहरूलाई पछि पार्दै उनले सबैलाई अचम्मित बनाएका थिए ।
त्यो चुनावमा उनले माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिवकुमार मण्डललाई ४ हजार ३३४ मतान्तरले पराजित गरेका थिए ।
योगेन्द्र मण्डलले २१ हजार ८२० मत प्राप्त गर्दा शिवकुमारले १७ हजार ४८६ मत पाए ।
एमालेको समर्थन रहेका जसपाका राजकुमार यादव ले १७ हजार ३९० मत प्राप्त गरेका थिए । त्यसबेला सामाजिक कामबाट बनेको भरोसाले मतदाताले ‘जोगीसर’लाई रोजेका थिए ।
यसपटक भने परिस्थिति फरक देखियो । राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको लहर, नयाँ नेतृत्वप्रतिको आकर्षण र मतदातामा देखिएको परिवर्तनको चाहनाले ‘जोगीसर’को प्रभावलाई ओझेलमा पारिदियो ।
स्वतन्त्र उम्मेदवारका रूपमा पाएको सहानुभूति यसपटक कायम रहन सकेन । राजनीतिक दल स्थापना गरेर चुनाव लड्नु, नयाँ दलहरूको प्रतिस्पर्धा बढ्नु र मत विभाजन हुनु पनि उनको मत घट्नुका कारण मानिन्छ ।
यस विषयमा स्वयं मण्डलले पनि प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मैले पाउने धेरै मत घण्टीलाई गएको हो । वर्षौदेखि सत्ता साझेदार बनेर बाँडीचुँडी खाने दलहरूप्रति असन्तुष्टि भएकाले देशभर घण्टीको प्रभाव देखिएको हो ।’
यस क्षेत्रमा ७८ हजार ४४९ मत खसेको थियो । त्यसमध्ये ७० हजार ५६० मत सदर भएका छन् भने ७ हजार ८८९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो नतिजाले एउटा कुरा स्पष्ट देखाएको छ, सामाजिक सेवाबाट बनेको लोकप्रियता मात्रै राजनीतिक सफलताको स्थायी आधार नहुन सक्छ ।
मतदाताको मनोविज्ञान, राजनीतिक वातावरण र विकल्पहरू बदलिदा परिणाम पनि बदलिन्छ ।
मोरङ–५ मा ‘जोगीसर’को कथा त्यसैको एउटा उदाहरण बनेको छ । जहाँ एकपटक सामाजिक भरोसाले चमत्कारिक जीत दिलायो, तर बदलिदो राजनीतिक लहरमा त्यो प्रभाव जोगाइराख्न चुनौतीपूर्ण सावित भयो ।
View : 206
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved