विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठूलो र जेठो सरकारी अस्पतालका रूपमा रहेको विराटनगरस्थित कोशी अस्पतालले आफ्नो सेवा विस्तारमा ठूलो फड्को मारेको छ ।
अस्पतालमा आउने बिरामीहरूको चाप र आवश्यकतालाई दृष्टिगत गर्दै बुधबारदेखि अस्पतालको आफ्नै रक्तसञ्चार सेवा (ब्लड बैंक) र चस्मा पसल एकैसाथ सञ्चालनमा ल्याइएको छ ।
दुवै सेवाको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले उद्घाटन गरेका हुन् ।
कोशी अस्पतालमा दैनिक रूपमा रगतको अभावका कारण बिरामी र तिनका आफन्तले सास्ती खेपिरहेकै बेला अस्पतालले आफ्नै संरचनामा रक्तसञ्चार सेवा स्थापना गरेको हो ।
२४ लाख रुपैयाँको बजेटमा निर्माण गरिएको सो ब्लड बैंकका लागि अस्पतालले गत पुस महिनामा टेन्डर आह्वान गरी आवश्यक पूर्वाधार निर्माण र उपकरण जडानको प्रक्रिया सुरु गरेको थियो ।
अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेका अनुसार अब अस्पतालमै रगत संकलन, परीक्षण र भण्डारणको प्रक्रिया छिटो हुने भएकाले आकस्मिक सेवामा ठूलो सुधार आउनेछ ।
‘अहिलेसम्म हामी बाह्य निकाय (रेडक्रस) मा निर्भर थियौं जसका कारण कतिपय अवस्थामा रगत अभाव हुन्थ्यो,’ प्रशासन प्रमुख न्यौपानेले भने, अब अस्पतालमै ब्लड बैंक सञ्चालनमा ल्याएका छौं, बिरामीले छिटो र सहज रूपमा सेवा पाउने छन् ।
रक्तसञ्चार सेवा उद्घाटन लगत्तै अस्पताल परिसरमा विशेष रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
सो कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीसहित ४५ जनाले रक्तदान गरेको अस्पतालका प्रशासन प्रमुख न्यौपानेले जानकारी दिए ।
विशेषगरी प्रसूति र शल्यक्रिया (सर्जरी) विभागमा रगतको अत्यधिक माग हुने गर्दछ ।
स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख डा. अञ्जु देवले प्रसूति सेवा अत्यन्तै संवेदनशील हुने भन्दै अस्पतालकै ब्लड बैंक भएपछि गरिब तथा विपन्न बिरामीहरूले रगत खोज्न बाहिर धाउनुपर्ने बाध्यताबाट मुक्ति पाउने बताए ।
प्रादेशिक रक्तसञ्चार सेवाका अनुसार कोशी प्रदेशमा दैनिक ९०० देखि १००० युनिटसम्म रगतको माग हुने गरेको छ, तर पछिल्लो समय राजनीतिक गतिविधिले गर्दा रक्तदान कार्यक्रमहरू ओझेलमा पर्दा रगतको चरम अभाव देखिंदै आएको थियो ।
ब्लड बैंकसँगै अस्पतालले आँखा विभागमा बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा राख्दै आफ्नै परिसरभित्र चस्मा पसल पनि सञ्चालनमा ल्याएको छ ।
यसअघि अस्पतालमा चस्मा उपलब्ध नहुँदा बिरामीहरू बाहिरका निजी पसलमा जान बाध्य थिए, जसले गर्दा उनीहरूको समय र खर्च दुवै बढी लाग्ने गरेको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले आँखा विभागमा आउने बिरामीको संख्या बढ्दै गएको र उनीहरूको सहजताका लागि उक्त चस्मा घर सञ्चालनमा ल्याएको बताए ।
‘हालसम्म अस्पतालभित्र चस्मा उपलब्ध नभएकाले बिरामीहरूलाई बाहिर पठाउनुपर्ने बाध्यता थियो, अब त्यो अवस्था सधैका लागि अन्त्य भएको छ,’ मेसु डा. चौधरीले भने ।
अस्पतालका अनुसार स्वास्थ्य बीमा गरेका बिरामीहरूले बीमा अन्तर्गत १,००० रुपैयाँसम्मको चस्मा निःशुल्क प्राप्त गर्न सक्नेछन् भने बीमा नभएका सेवाग्राहीहरूले पनि सहुलियत दरमा चस्मा खरिद गर्न पाउने छन् ।
हाल कोशी अस्पतालको आँखा विभागमा दैनिक औसत ४० जना बिरामीले वहिरङ सेवा (ओपीडी) लिइरहेका छन् ।
विभागले चस्मा जाँच, ‘बी–स्क्यान’, ‘भिजुअल फिल्ड’ तथा आँखाको चाप नाप्ने र मोतिविन्दुको शल्यक्रिया सेवा दिंदै आएको छ ।
यद्यपि, विभागमा अप्टोमेट्रिस्ट, अप्टिकल फिटर र तालिमप्राप्त नर्स जस्ता प्राविधिक जनशक्तिको भने केही अभाव रहेको चिकित्सकहरू बताउँछन् ।
आगामी दिनमा अस्पतालले मधुमेह र उच्च रक्तचापका कारण देखिने आँखाका समस्याहरूको उपचारमा ध्यान केन्द्रित गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने योजना बनाएको छ ।
एकै ठाउँबाट रगत, परीक्षण, उपचार र चस्मासमेत उपलब्ध हुने भएपछि टा–टाढा र छिमेकी भारतीय सहरहरूबाट आउने बिरामीहरूलाई समेत ठूलो राहत मिल्ने विश्वास अस्पताल प्रशासनको छ ।
View : 165
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved