विराटनगर । सरकारले कुष्ठरोग निवारणका लागि निःशुल्क उपचारसहित ठूलो लगानी गरेपनि नयाँ रोगी थपिने क्रम घटेको छैन । कोशी प्रदेशमा आर्थिक वर्ष २०८०÷८१ मा कुष्ठरोगका ४ सय ११ सङ्क्रमित फेला परेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार प्रदेशका १२ जिल्लामा नयाँ र पुराना गरी ४ सय ११ कुष्ठरोगका सङ्क्रमित भेटिएका हुन् । जसमध्ये सबैभन्दा बढी झापा जिल्लामा भेटिएका छन् ।
पुराना बिरामी भने तीनजना रहेका छन् । ती मध्ये झापामा एक र मोरङमा दुईजना भने पुरानै बिरामी दोहोरिएको निर्देशनालयले जनाएको छ ।
७२ औं बिश्व कुष्ठरोग दिवसको अवसर पारेर कोशी अस्पताल विराटनगरमा आयोजित एक कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका कुष्ठरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले सबैभन्दा बढी झापामा एक सय ३५ कुष्ठरोग संक्रमित भेटिएका बताए । उनका अनुसार मोरङमा एक सय ३२ जना र सुनसरीमा एक सय २८ जना कुष्ठरोगका सङ्क्रमित भेटिएका छन् ।
यसैगरी धनकुटामा सातजना, उदयपुरमा १२ , पाँचथरमा दुईजना, इलाममा चारजना र तेह्रथुममा एक जना कुष्ठरोगका सङ्क्रमित रहेका छन् । गुरागाईले कोशी प्रदेशका नयाँ सङ्क्रमितमध्ये अङ्गभङ्ग भएपछि मात्र सम्बन्धित ठाउँमा उपचारका लागि आउने संक्रमितको सङ्ख्या ५२ जना रहेको र तीमध्ये १२ जना १४ वर्षमुनिका बालबालिका रहेको जानकारी दिए ।
कोशी अस्पतालका छाला तथा यौनरोग विभागका प्रमुख डा. चन्द्रभाल झाले कुष्ठरोगका कारण तत्काल बिरामीको मृत्यु नहुने र छालामा चिलाउने दुख्ने जस्ता समस्या पनि नदेखिँदा बिरामीहरु उपचारका लागि समयमै स्वास्थ्य संस्था नपुग्ने भएकाले यसको उपचारमा थप चुनौति थपिएको बताए ।
हरेक वर्षझैं यो वर्ष पनि जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग सचेतनाका लागि एकबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौ भन्ने नाराका साथ कुष्ठरोग दिवस मनाइएको छ ।
बिरामीको आत्मविश्वास बढाउन, पूर्णरुपमा उपचार गरी रोग निर्मूल पार्न, कुष्ठरोगीहरुप्रति समाजमा हुने तिरस्कार तथा सामाकि कुरीति र अन्धविश्वासलाई हटाएर कुष्ठरोग अन्त्य गर्ने उद्देश्यले हरेक वर्ष जनवारीको अन्तिम आइतबार यो दिवस मनाइने गरिएको छ ।
कुष्ठरोग बिभागलाई ५ लाख बराबरको सामग्री
विश्वास परियोजनाअन्तर्गत फेरमेड नेपालले कोशी अस्पतालको कुष्ठरोग बिभागलाई ५ लाख बराबरको सामग्री हस्तान्तरण गरेको छ । ७२ औं बिश्व कुष्ठरोग दिवसको अवसर पारेर कोशी अस्पतालमा आयोजित कुष्ठरोग सम्बन्धी एक कार्यक्रममा फेरमेड नेपालले उक्त सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।
उक्त सामग्रीमा क्षयरोग र कुष्ठरोग प्रभावित बिरामीहरुको लागि आवश्यक औषधि, चिकित्सा उपकरण, स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक अन्य सामग्री र सेल्फ केयरका सामग्रीहरु रहेका छन् ।
कोशी अस्पतालका पूर्व मेसु तथा छाला तथा यौनरोग बिभाग प्रमुख डा. चन्द्रभाल झालाई सामग्री हस्तान्तरण गर्दै फेरमेड नेपालका टिम लिडर डम्बर सिंह गुरुङले कुष्ठरोगको उपचारमा कोशी अस्पतालले उत्कृष्ट सेवा दिएको कारण सेवालाई थप गुणस्तर र प्रभावकारी बनाउन फेरमेडले सहयोग स्वरुप सामग्री उपलब्ध गराएको बताए ।
View : 60
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved