Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बालबालिकामा नसर्ने रोगको उच्च जोखिम

विज्ञहरू भन्छन् : अस्वस्थ जीवनशैली मुख्य कारण
जुनु भट्टराई
१४ फागुन २०८१, बुधवार

विराटनगर । नेपालमा बालबालिकाहरूमा नसर्ने रोगहरूको जोखिम बढ्दै गएको विज्ञहरूले बताएका छन् । पछिल्लो समय अस्वस्थकर जीवनशैली, फास्ट फुडको बढ्दो प्रयोग, शारीरिक निष्क्रियता, वायु प्रदूषण तथा मानसिक तनाव जस्ता कारणले बालबालिकाहरू मुटु रोग, मधुमेह, मोटोपन, दम, मानसिक स्वास्थ्य समस्या लगायतका नसर्ने रोगहरूको जोखिममा पर्ने क्रम तीव्र भइरहेको उनीहरुको भनाइ छ । 

नेपाल सरकारको स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले गरेको एक अध्ययनअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकामध्ये २० प्रतिशतमा मोटोपनको समस्या देखिएको छ । जसले उनीहरूलाई भविष्यमा मधुमेह तथा उच्च रक्तचापको जोखिममा पार्न सक्ने कुरा उल्लेख गरिएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभरमा प्रत्येक वर्ष करिब ४१ मिलियन मानिस नसर्ने रोगका कारण मृत्युको शिकार हुन्छन् जसमा बालबालिकाको संख्या पनि उल्लेख्य छ । 

नेपालमा यस्ता रोगको समस्या वयस्क तथा वृद्धवृद्धामा मात्र सीमित नरही साना उमेर समूहमा समेत बढ्दो अवस्थामा रहेको बिभिन्न तथ्याड्कले देखाएको छ । 

कुनै समय विश्व नै सरुवा रोगले आक्रान्त थियो भने पछिल्लो समय नसर्ने रोगबाट प्रताडित बन्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठनको सन् २०१८ को तथ्यांकले ६६ प्रतिशत मृत्युको कारण नसर्ने रोग हुने देखाएको  थियो । 

विश्व स्वास्थ्य सङ्गठनकै सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनका अनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको देखिएको छ ।

अहिले नसर्ने रोगमा उच्च रक्तचाप, मुटु तथा रक्तनलीको समस्या, मधुमेह, दम, क्यान्सर, मिर्गौलाको समस्या लगायत छन् । यस्ता रोग एउटा निश्चित कारकतत्व भन्दा पनि धेरै कारणको असरबाट लाग्ने गर्छ । 

विकसित देशले नसर्ने रोगको प्रकोप नियन्त्रणमा ल्याउँदै छन् । तर, हाम्रो जस्तो विकासोन्मुख मुलुकमा नसर्ने रोग महामारीको रूपमा फैलिने क्रममा रहेको छ । 

ब्यस्त दैनिकीले निम्त्याएको अस्वस्थ जीवनशैली, जंक फुडको अत्यधिक सेवन, मोटोपन र शारीरिक गतिविधिको कमीका कारण बालबालिकामा पनि मधुमेह (डायबिटिज) र उच्च रक्तचाप (हाइपरटेन्सन) जस्ता रोगहरू बढ्दो दरमा देखिन थालेकाले यी समस्याले भविष्यमा गम्भीर स्वास्थ्य जटिलता निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन् । 

कोशी अस्पताल विराटनगरका बालरोग विभाग प्रमुख वरिष्ठ बालरोग बिशेषज्ञ डा रामनारायण चौधरी पछिल्ला वर्षहरूमा धेरै नसर्ने रोगको समस्या लिएर आउने बालबालिकाहरूको संख्या बढ्दै गएको बताउँछन् ।

उनी भन्छन् ‘नेपाली बालबालिकाहरू अहिले मोबाइल तथा कम्प्युटरमा झुम्मिन थालेका छन् जसका कारण शारीरिक गतिविधि घट्दै गएको छ । साथै, अस्वस्थकर खानेकुराको बढी सेवनका कारण मोटोपन, मुटुरोग जस्ता समस्या बढ्दैछ । यी सबै नसर्ने रोगहरू मुख्यतः अस्वस्थ जीवनशैलीकै परिणाम हुन् ।  

अस्वस्थ जीवनशैली, जंक फुडको अत्यधिक सेवन, मोटोपन र शारीरिक गतिविधिको कमीका कारण बालबालिकामा मोटोपना, अटिजम जस्ता रोगहरू बढ्दो दरमा देखिन थालेको उनको भनाइ छ ।

‘यो अत्यन्तै चिन्ताजनक अवस्था हो,’ डा. चौधरी भन्छन् ,‘बाल्यावस्थादेखि नै नसर्ने रोगको समस्या देखिनु भनेको निकै चिन्ताजनक अवस्था हो किनभने यी समस्याले भविष्यमा गम्भीर स्वास्थ्य जटिलता निम्त्याउन सक्छ ।’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा शंकर अधिकारी बालबालिकाहरूको दैनिक जीवनस्तरमा सुधार नगरे भोलि यसले ठूलो स्वास्थ्य समस्या निम्तिने खतरा रहेको बताउँछन् ।  

‘पहिले सुगर प्रेसर जस्ता नसर्ने प्रकृतिका रोगहरू उमेर पुगेका मानिसहरूमा मात्र देखिन्छ भन्ने धारणा थियोे तर अहिले बालबालिकामा पनि मोटोपना सुगर प्रेसर जस्ता स्वास्थ्य समस्याहरु देखिने क्रम दिनानुदिन बढ्दो छ,’ डा अधिकारी भन्छन् ‘अब अभिभावकहरू सचेत हुनुपर्छ, बच्चाहरूको खानपानमा ध्यान दिनुका साथै नियमित व्यायाम, खेलकुद र स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्नु आवश्यक छ । 

यदि समयमै सचेत भएन भने यो समस्या झन् जटिल बन्न सक्छ । अहिले नै उचित जीवनशैली अपनाएर भावी पुस्तालाई स्वस्थ राख्नुपर्ने बेला आएको छ ।’ 

डा अधिकारी सन्तुलित भोजन, नियमित शारीरिक गतिविधि, पर्याप्त निद्रा, प्रविधिको सीमित प्रयोग, बालबालिकालाई खेलकुदमा संलग्न गराउने, घरमै पकाइएका पोषणयुक्त खाना खुवाउने र मानसिक स्वास्थ्यप्रति सजग रहने हो भने बालबालिकामा नसर्ने रोगको जोखिमबाट हदसम्म बचाउन सकिने भएकाले यसतर्फ अभिभावक र बिद्यालय दुबै सचेत हुनुपर्ने बताउँछन् ।

View : 111

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved