Biratnagar, Morang, Nepal
१२ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
विचार

निराशाबाट आत्मनिर्भरतासम्मको यात्रा

उद्‌घोष संवाददाता
११ असोज २०८३, आइतवार

Advertisement

-कल्पना गजमेर,
इलाम नगरपालिकाका २९ वर्षीय रमेश (नाम परिवर्तन) लामो समयदेखि गम्भीर मनोसामाजिक समस्याबाट पीडित थिए ।

उनमा निरन्तर एक्लोपन, निराशा, कमजोरी महसुस हुने, निद्रा नलाग्ने, भोक कम लाग्ने तथा दैनिक क्रियाकलापप्रति रुचि हराउने जस्ता लक्षणहरू देखिएका थिए ।

उनले बेलाबेलामा आत्महत्याको सोचसमेत आउने गरेको बताएका थिए । मानसिक स्वास्थ्य समस्याका कारण उनले चिकित्सकको सल्लाहअनुसार बिषाद (डिप्रेसन) को औषधि सेवन गरिरहेका थिए ।


उनको मानसिक अवस्थालाई थप जटिल बनाउने प्रमुख कारण पारिवारिक अवस्था थियो ।

श्रीमती वैदेशिक रोजगारीका लागि कतारमा थिइन् । वैवाहिक सम्बन्धमा आएको दूरी, भावनात्मक साथको अभाव र भविष्यप्रतिको अनिश्चितताले उनलाई अझ एक्लो, असहाय र निराश बनाएको थियो ।

समाधानको खोजीमा उनी विभिन्न अस्पताल पुगेका थिए र उपचारमा ठूलो आर्थिक खर्चसमेत भएको थियो, तर अपेक्षित मानसिक राहत प्राप्त गर्न सकेका थिएनन् ।


मनोसामाजिक परामर्श सेवाअन्तर्गत सेवाग्राहीसँग विश्वासमा आधारित सम्बन्ध स्थापना गरी गोपनीयता, परामर्शको उद्देश्य तथा प्रक्रियाबारे जानकारी प्रदान गरियो ।

प्रारम्भिक सत्रमा उनको मानसिक अवस्था, आत्महत्याको जोखिम, पारिवारिक सम्बन्ध, उपलब्ध सहयोग प्रणाली तथा दैनिक कार्यसम्पादनको विस्तृत मूल्याङ्कन गरियो ।


आत्महत्याको जोखिम देखिएकाले व्यक्तिगत सुरक्षा योजना तयार गरियो र प्रत्येक सत्रमा जोखिमको नियमित पुनः मूल्याङ्कन गरियो ।

नियमित परामर्शमार्फत उनलाई आफ्ना भावना सुरक्षित वातावरणमा अभिव्यक्त गर्न प्रोत्साहन गरियो । तनाव व्यवस्थापनका लागि श्वासप्रश्वास तथा विश्राम अभ्यास सिकाइयो ।

नकारात्मक सोचलाई सकारात्मक र यथार्थपरक सोचमा रूपान्तरण गर्ने, समस्या समाधान गर्ने सीप विकास गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा दैनिक जीवनलाई व्यवस्थित बनाउने विषयमा निरन्तर सहजीकरण गरियो ।


साथै चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्न, नियमित जाँच कार्यमा सहभागी हुन तथा आफ्नो क्षमता र रुचिअनुसार आय–आर्जनमूलक गतिविधि सुरु गर्न प्रेरित गरियो ।

आवश्यकतानुसार परिवारसँग पनि समन्वय गरी सेवाग्राहीलाई भावनात्मक सहयोग प्रदान गर्न प्रोत्साहित गरियो ।


नियमित मनोसामाजिक परामर्श र चिकित्सकीय उपचारपछि सेवाग्राहीको मानसिक अवस्थामा उल्लेखनीय सुधार देखियो ।

आत्महत्याको सोच क्रमशः हट्यो, निद्रा र भोकमा सुधार आयो, मानसिक तनाव घट्यो र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास भयो ।


सबैभन्दा महत्वपूर्ण परिवर्तन उनको आत्मविश्वासमा देखियो ।

आफ्नै क्षमतामाथिको विश्वास बढेपछि उनले आफ्नै लगानीमा मासु पसल सञ्चालन गर्न सुरु गरे ।

हाल उनी नियमित रूपमा व्यवसाय सञ्चालन गर्दै परिवारको आर्थिक जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

उनी चिकित्सकको नियमित जाँच पड्तालमा सहभागी हुने र सल्लाहअनुसार औषधि सेवन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् ।
आज उनी आफूलाई आत्मनिर्भर, जिम्मेवार र भविष्यप्रति आशावादी महसुस गर्छन् ।

उनको जीवनमा आएको यो परिवर्तनले मनोसामाजिक परामर्श, चिकित्सकीय उपचार, व्यक्तिगत प्रयास तथा सामाजिक सहयोगको संयुक्त प्रभावलाई स्पष्ट रूपमा देखाउँछ ।
 

‘पहिले मलाई जीवन नै बोझजस्तो लाग्थ्यो । मनका कुरा कसैसँग भन्न सक्दिनँथें र कहिलेकाहीँ जीवन अन्त्य गरिदिऊँ भन्ने सोचसमेत आउँथ्यो ।

मनोसामाजिक परामर्श पाएपछि मैले पहिलो पटक आफैँलाई बुझ्ने र जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्ने अवसर पाएँ ।

आज आफ्नै व्यवसाय सञ्चालन गरिरहेको छु । भविष्यप्रति आशावादी छु र जीवनप्रति फेरि विश्वास जागेको छ ।’ 
–रमेश (नाम परिवर्तन), सेवाग्राही  । 

(कल्पना गजमेर, इलाम नगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता हुन् ।)


 

View : 117

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved