Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

रेबिजको जोखिम बढ्दैछ विराटनगरमा, प्रदेशकै ठुलो सरकारी अस्पतालमा छैन औषधि

उद्‌घोष सम्वाददाता
१३ मंसिर २०८१, बिहिवार

सांकेतिक फोटो ।

विराटनगर । बिरालोले टोकेपछि विराटनगर ५ निवासी एक जना महिला बुधबार कोशी अस्पताल विराटनगरमा सल्लाहका लागि पुुगिन् । घरमै बस्दै आएको बिरालोले टोकेपछि अस्पताल गएकी उनलाई रेबिज बिरुद्धको खोप लगाउन सुझाव दिइयो ।

अस्पतालका चिकित्सकले खोप लगाउन भनेपनि त्यहाँ सरकारी औषधि नभएको जानकारी गराइयो । बुधबार नै अर्का पुरुष कुकुरले टोकेर खोप लगाउन गएका थिए । नेपाल सरकारले रेबिज बिरुद्धको खोप निःशुल्क र बिरामीलाई अनिवार्य उपलब्ध गराउदै आएपनि कोशी अस्पताल विराटनगरमा यो औषधि सकिएको निकै दिन भएको छ । 

जसका कारण आवश्यक पर्नेले खरिद गरेर लगाउनु पर्ने अवस्था आएको छ । कोशी प्रदेशकै ठुलो र संघीय सरकारको अस्पतालमा बहुला कुकुरले टोकेको बेला लगाउने अति आवश्यक खोप छैन । अस्पतालका निमित्त मेडिकल सुपरिण्टेण्डेण्ट डा. मनोज ठाकुर नेपाल सरकारको स्वास्थ्य बिभागबाटै भ्याक्सिन नआएकाले अस्पताललाई समस्या भएको बताउँछन् । 

‘पटक पटक बिभागमा पत्राचार गरिएको छ, भ्याक्सिन आएको छैन, तत्काल आवश्यक पर्ने औषधि खरिदको बजेट हुन्छ त्योपनि सकिएकाले बिभागलाई नै आग्रह गरिएको छ’ ठाकुरले भने । मांसाहारी जनावरले टोकेमा रेबिज सर्ने बढी सम्भावना हुन्छ । रेबिज लागेपछि मानिसलाई बचाउन असम्भव प्राय हुने चिकित्सक स्वयम बताउँछन् ।

‘रेबिज लाग्यो भनें मानिसको सतप्रतिशत मृत्यु हुन्छ’ कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काले भने– ‘रेबिज लागेको मानिसले पानी निल्न सक्दैन सर्किन्छ । अनि पानीदेखि डराउँछ यो रोगलाई (हाइड्रोफोनिया) भनिन्छ ।’ उनले रेबिज रोग लागेको मानिस आफुले पेशाका क्रममा धेरै वर्षमा एक मात्र भारतीय नागरिक देखेकोपनि बताए ।

रेबिजको मात्रै हैन स्वास्थ्य बिमा गरेका बिरामीलाई हिजोआज कोशी अस्पतालमा चिकित्सकले लेखेका सबै औषधि नपाउने अवस्था छ । बिमा गरेका बिरामीलाई बिमामा दर्ता भएका औषधि नै चिकित्सकले सिफारिस गरेको भएपनि औषधि काउण्टरले अर्को दिन आउनु भन्ने गरेको छ । अस्पतालमा औषधि ठेक्काको प्रकृयामा समस्या भएकाले पनि अभाव भएको बताइन्छ ।

कोशी अस्पताल विकास समितीका अध्यक्ष डा. फरवाड सिलवाल औषधि खरिदका लागि ठेक्का प्रकृयामा समस्या भएकाले सबै औषधि बिरामीले नपाएको स्विकार गर्छन् । 

‘औषधिको टेण्डरमा बिवाद भएकाले केही समय लागेको हो, यो छिट्टै समाधान हुन्छ’ उनले भने । रेबिज बिरुद्धको भ्याक्सिन अभाव बारे भनें अस्पताल प्रशासनले बुधबार मात्रै आफुलाई जानकारी दिएको उनले बताए ।

कतिपय खोपहरु दातृ निकायबाट आउने भएकाले संघीय सरकार बाहेकका संस्थाबाट पनि कोशी अस्पतालमा आउने गरेको छ । हाल डेंगुरोग फैलदै गएको बेला यसको परिक्षणका लागि कोशी अस्पतालमा किटको अभाव छ । 

यसअघि विराटनगर महानगर, प्रदेश स्वास्थ्य मन्त्रालय र गैरसरकारी निकायले पनि किट उपलब्ध गराउँदै आएकोमा हाल सबै तिरबाट नआएकाले केन्द्रकै प्रतिक्षमा रहनु परेको सिलवालको भनाई छ ।

कोशी अस्पतालले आईसीयु बन्द गरेर निजी अस्पताललाई सघाएको आरोपपनि लाग्दै आएको छ । 

स्वास्थ्यकर्मी अभावमा आईसीयु बन्द गरिएको बताईएपनि अस्पताल प्रशासन र विकास समितिका पदाधिकारीले आङ्खना मानिस नियुक्त गर्ने अडान लिन थालेपछि यो प्रकृया अलपत्र छ । 

‘दुई जना स्वास्थ्यकर्मीको माग गरियो भनें सात जनाले मेरो मान्छे राख्ने भन्छन्, त्यसैले कसैका पनि मानिस नपरुन भनेर सेवा बन्द छ’ अस्पतालका एक कर्मचारीले भने ।

View : 120

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved