विराटनगर । कोशी प्रदेश सरकारको असहयोगका कारण विराट गोल्ड कप सञ्चालनले निरन्तरता पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।
गत साल विराट गोल्ड कप सञ्चालन गर्न तत्कालीन मुख्यमन्त्री केदार कार्कीले २५ लाख रुपैयाँ दिने भनी गोल्ड कप टुर्नामेन्टको उद्घाटनका अवसरमा सार्वजनिक रुपमा बोलेकोमा आयोजक समितिले सो रकम हालसम्म पनि पाउन सकेको छैन ।
‘मुख्यमन्त्रीले सार्वजनिक रुपमा बोलेको रकम नदिएकोले हामी अन्योलमा छौं,’ विराट गोल्ड कप ट्रष्टका अध्यक्ष किशोर शाही भन्दछन् ।
उनका अनुसार गत सालको टुर्नामेन्टको १४ लाख रुपैयाँ बजारमा तिर्न बाँकी छ । ट्रष्टबाट १३ लाख रुपैयाँ सापटी चलाएको छ । मुख्यमन्त्रीको कार्यालयले २५ लाख रुपैयाँ दिएमा घाटा पूर्ति हुन सक्छ ।
राष्ट्रिय खेलकुद परिषदले पाँच लाख र राष्ट्रिय वाणिज्य बैंकले दुई लाख रुपैयाँ दिन्छु भनेकोमा त्यो पनि दिएको छैन । पुरानो हिसाब मिलाउन नसकेकाले विराट गोल्ड कप ट्रष्टले यस वर्षको टुर्नामेन्टको तयारी गर्न सकेको छैन ।
गत दशैंताका ट्रष्टका पदाधिकारीहरुले मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटेर दिने भनिएको रकम भुक्तानी दिन आग्रह गर्दा २० लाख रुपैयाँ दिने आश्वासन दिएकोमा अहिलेसम्म पैसा नपाएको अध्यक्ष शाही बताउँछन् ।
गत साल चैत १५ देखि २५ गतेसम्म ट्रष्ट आफैले टुर्नामेन्टको आयोजना गरेको थियो । प्रदेश सरकारकै असहयोगका कारण ट्रष्टले टुर्नामेन्टको आयोजना गर्न तयारी शुरु नगरेको हो ।
View : 401
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved