Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मर्दा  र पर्दामा सक्रीय रतुवामाई समाज

माधव अधिकारी
२८ माघ २०८२, बुधवार

​विराटनगर । मोरङको रतुवामाई समाजले विराटनगर–१२ निवासी ओम ढकालकी ममतामयी माता नन्दमाया ढकालको १०१ वर्षको उमेरमा भएको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ

​मंगलबार आयोजित उक्त शोक सभामा समाजका सल्लाहकार रमानाथ भट्टराईले दिवंगत माताप्रति श्रद्धासुमन अर्पण गर्दै मृत्युलाई शाश्वत सत्यका रूपमा स्वीकार्नुपर्ने बताए ।

मानिसको भाग्य र जीवनका महत्वपूर्ण पक्षहरू जन्मपूर्व नै तय हुने उल्लेख गर्दै उनले चाणक्य नीतिको चौथो अध्यायको पहिलो श्लोक उद्धृत गरे।

​"मानिस गर्भमा रहँदै उसको आयु, कर्म, धन, विद्या र मृत्यु जस्ता पाँच कुराको निर्धारण भइसकेको हुन्छ। त्यसैले मृत्युलाई सहज रूपमा स्वीकार्दै सत्कर्ममा लाग्नु नै उत्तम मार्ग हो," भट्टराईले भने।

​शोक सभालाई सम्बोधन गर्दै समाजका अध्यक्ष एवं आदर्श माध्यमिक विद्यालयका पूर्व प्राचार्य विष्णु लामिछानेले रतुवामाई समाज आफ्ना सदस्यहरूको सुख-दुःखमा सदैव साथ दिने संस्था भएको बताए।

 समाजले पुराना परम्पराहरूलाई समयसापेक्ष परिमार्जन गर्दै लैजाने नीति लिएको जानकारी दिदै अध्यक्ष लामिछानेले आयातित वस्तुहरूलाई निरुत्साहित गर्दै राष्ट्रिय उत्पादनलाई प्राथमिकता दिने समाजको अभियानबारे चर्चा गरे।

"हामीले यस्ता कार्यक्रमहरूमा अनावश्यक रूपमा प्रयोग हुने विदेशी सिसाका सामग्रीलाई कटौती गर्दै लगेका छौँ। यसले स्वदेशी उत्पादनको सम्मान र फजुल खर्च नियन्त्रणमा सहयोग पुग्नेछ," उनले स्पष्ट पारे।

​स्वर्गीय नन्दमाया ढकालका दुई छोरा, चार छोरीसहित ठुलो परिवार रहेको छ।

स्वर्गीय ढकालका  ३१ नाति-नातिनी, ६२ पनाति-पनातिनी र ७ जना खनाति-खनातिनी गरी सन्तान दरसन्तानको ठुलो संख्या रहेको समाजले जनाएको छ।

​शोक सभामा समाजका पदाधिकारी, स्थानीय बुद्धिजीवी तथा विभिन्न पेशाकर्मीहरूको उपस्थिति थियो। सहभागीहरूले स्वर्गीय ढकालको लामो र अर्थपूर्ण जीवनको स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका थिए।
 

View : 433

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved