Biratnagar, Morang, Nepal
१९ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

रहेनन् विराट व्यापार संघका संस्थापक अध्यक्ष दाहाल

उद्‌घोष संवाददाता
१८ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । विराट व्यापार संघका संस्थापक अध्यक्ष ध्रुव दाहालको बिहीबार साँझ निधन भएको छ ।

काठमाडौं कलंकीस्थित नेशनल हस्पिटलमा एक सातादेखि उपचाररत ७१ वर्षीय दाहालको बिहीबार साँझ ५ः३० बजे निधन भएको हो । पछिल्लो समय दुवै किड्नी फेल भएपछि उनी स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । दाहालमा किड्नीका साथै फोक्सो र मुटुसम्बन्धी समस्या रहेको उनका भाञ्जा तथा व्यावसायिक साझेदार बुद्धि पौडेलले जानकारी दिए ।

विराटनगरका साना तथा मझौला व्यवसायीको हकहित संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको विराट व्यापार संघ गठनमा दाहालको महत्वपूर्ण भूमिका थियो । वि.सं.२०५७ साल असारमा गठन भएको विराट व्यापार संघको संस्थापक अध्यक्षका रूपमा दाहालले लामो समय संघको नेतृत्व गरेका थिए । व्यापार व्यवसायका क्षेत्रमा साना व्यवसायीका समस्या उठाउने र उनीहरूलाई संगठित गर्ने काममा उनको योगदान महत्वपूर्ण रहेको व्यवसायीहरू बताउँछन् ।

दाहालले विराटनगरमा ‘नेहा मार्केट’ नामबाट खुद्रा तथा थोक व्यापार सञ्चालन गरेका थिए । व्यापारिक क्षेत्रमा लामो समय सक्रिय रहेका उनले पछिल्लो समय मदिरा उत्पादन गर्ने लिकर्स कम्पनीसमेत सञ्चालन गरेका थिए । विराटनगरमा मेहनतका साथ व्यापारिक पहिचान बनाएका दाहाल साना व्यवसायीका समस्याप्रति चासो राख्ने व्यवसायीका रूपमा परिचित थिए ।

वि.सं. २०१२ साल असारमा ओखलढुंगाको सिद्धिचरण-३, लामीसोतीमा जन्मिएका दाहाल युवावस्थामै विराटनगर झरेका थिए । व्यापार व्यवसायमा सक्रिय हुँदै उनले विराटनगरलाई आफ्नो कर्मथलो बनाएका थिए । पछिल्लो समय भने स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनी विराटनगर-७, शनिहाटपूर्व टेलिकम लाइनस्थित घरमा स्वास्थ्यलाभ गर्दै आएका थिए ।

दाहालले स्थापना गरेको संघमा अहिले विभिन्न क्षेत्रका ४ हजार ५०० भन्दा बढी सदस्य आबद्ध रहेको संघले जनाएको छ । दाहालको निधनले विराटनगरका साना तथा मझौला व्यवसायीलाई ठूलो क्षति पुगेको विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले बताए । ‘संस्था जन्माउने जन्मदाता गुमाउनुपर्दा हामी मर्माहत छौं,’ जिन्दलले भने, ‘उहाँले स्थापना गरेको संस्थाले अहिले हजारौं व्यवसायीको प्रतिनिधित्व गरिरहेको छ । उहाँको योगदान सधैं स्मरणीय रहनेछ ।’

दाहालको निधनप्रति विराट व्यापार संघसँगै विराटनगरका उद्योगी-व्यवसायीहरूले दुःख व्यक्त गरेका छन् । व्यवसायीहरूले उनको निधनले निजी क्षेत्र तथा विशेषगरी साना व्यवसायीको संगठन निर्माणमा योगदान पुर्‍याएका एक अनुभवी व्यवसायी गुमाएको बताएका छन् ।
दाहालको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा छन् । पारिवारिक स्रोतका अनुसार दाहालको अन्तिम संस्कार बिहीबार साँझ नै काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिने भएको छ ।

View : 563

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved