Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

यूएईका व्यवसायीसँग प्रधानमन्त्री दाहालले गरे नेपालमा लगानीको आग्रह

रासस
१५ मंसिर २०८०, शुक्रवार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त अरब इमिरेट्सका उद्योगी व्यवसायीसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन अवुधाबी पुगेका उनले बिहीबार साँझ नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् ।  

दुबई उद्योग वाणिज्य संघसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।

यूएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले यूएई र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी अपरिहार्य भएको बताए ।  
दुबई उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य महासंघ र दुबई उद्योग वाणिज्य संघबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका भनाइ राखेको दूतावासले जनाएको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र यूएईबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा यूएई र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री दाहालले अवुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गरेका थिए । राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२८ बिहीबारदेखि दुबईमा सुरु भएको छ ।

View : 429

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved