विराटनगर । जलवायु संकटलाई उचित रूपमा समाधान गर्न सामाजिक, आर्थिक र राजनीतिक प्रणालीमा परिवर्तनको आह्वान गर्दै विराटनगरमा युवा अभियानकर्मीहरूले शनिबार र्याली प्रदर्शन गरेका छन् । जलवायु वित्त कार्यान्वयनका लागि विश्वभरबाट उठाइने आवाजलाई समर्थन गर्दै उनीहरूले र्याली आयोजना गरेर दवाव सिर्जना गरेका छन् ।
जलवायु परिवर्तनका चुनौतिबारे भर्खरै अजरबैजानको वाकुमा सम्पन्न कोप–२९ मा भएका वार्ताहरूको सन्दर्भमा भएका निर्णयहरूको कार्यन्वयनमा र्यालीमार्फत दवाव दिइएको जनाइएको छ ।
थामे, सिन्धुपाल्चोक, मुस्ताङ र तराईका जिल्लाहरूमा पछिल्लो पटक देखिएका जलवायु परिवर्तनका प्रभावप्रति र्यालीमा सहभागी युवा पंक्तिले चासो व्यक्त गरेका थिए । उनीहरूले नेपाली युवा र नागरिक समाजले आफ्नो भविष्यको जोखिमलाई हेरेर चुपचाप बस्न नसकिने सन्देश दिएका थिए ।
विराटनगरसहित मुलुकका १६ स्थानमा यसरी र्याली प्रदर्शन गरिएको जनाइएको छ । यो अभियानले वैश्विक उत्तर अर्थात ग्लोवल नर्थका सरकारहरूलाई जलवायु ऋण चुकाउन ग्लोबल साउथप्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न पनि दवाव दिने मुख्य उदेश्यमा केन्द्रीत रहेको अभियन्ता मन्दिप कुमार साहले बताए ।
यो र्याली विराटनगरको हिमालयन रोडबाट शुरू भएर महेन्द्र चोक, शनि मन्दिर, मैन रोड हुँदै विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा समापन गरिएको थियो ।
विश्वमा ग्लोबल नर्थले आफ्नो जलवायु वित्तको प्रतिवद्धता पूरा गर्नुपर्ने अभियन्ताहरूले बताए । यो क्षेत्रका औद्योगिक देशहरूको दायित्वभित्र पर्ने जलवायु ऋणलाई अनुदानमा उल्लेख हुनुपर्ने उनीहरूले बताए ।
जलवायु परिवर्तनको प्रभावका चुनौतिबारे अभियानमा जुटेकाहरूका अनुसार उत्तरी देशहरूले हरेक बर्ष थप पाँच ट्रिलियन अमेरिकी डलर रकम चुकाउनु पर्नेछ ।
उनीहरुले यो मुल्य चुकाएमात्रै जलवायु परिवर्तनले उत्पन्न गरेका गम्भीर असमानताहरू र अन्यायहरू न्युनीकरण हुने विश्वास व्यक्त गरिएको छ ।
विराटनगरको र्यालीलाई संवाद फाउण्डेशनका सुनिल यादव, ग्रीन सिटी स्वयंमसेवककी स्वेता मण्डल, ह्यूम्यानिटी फाउण्डेशनका दिपेन राई, नेपाल हातेमालो मंचबाट सोनु सरदार लगायतले सम्बोधन गर्दै जलवायु वित्तले समावेशी वित्तीय दृष्टिकोणमा ध्यान दिनुपर्ने, औद्योगिक राष्ट्रहरूले विद्यमान प्रतिवद्धताहरू अनुसार नै जलवायु वित्तको पारदर्शी र उत्तरदायी कार्यन्वयन गर्नुपर्ने माग गरेका थिए ।
View : 62
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved