विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) युवराज कट्टेलले मानिसको सफलता केवल शैक्षिक उपाधिले मात्र नभई उसको जीवनशैली, आचरण र समाजप्रतिको योगदानका आधारमा मूल्याङ्कन हुने बताएका छन्।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित बीबीए, बीबीएम र बीपीए कार्यक्रमद्वारा नयाँ विद्यार्थीहरूका लागि आयोजित संयुक्त अभिमुखीकरण कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
प्रमुख अतिथिको रूपमा बोल्दै प्रजिअ कट्टेलले देखावटी कामका भरमा कहिल्यै वास्तविक सफलता नमिल्ने स्पष्ट पारे।
“कुनै पनि कामलाई आफ्नै ठानेर मनैदेखि गर्दा मात्रै मानिस सफल बन्छ,” विभिन्न आध्यात्मिक प्रसङ्गहरू उद्धृत गर्दै उनले भने, “अर्कालाई देखाउन मात्र गरिएको कामले अन्ततः मानिसलाई असफलतातिरै धकेल्छ।”
उनले विद्यार्थीहरूलाई इमान्दारीपूर्वक अध्ययनमा लाग्न र आफ्नो ज्ञानलाई व्यक्तिगत हितमा मात्र सीमित नराखी छिमेक, समाज र सिङ्गो राष्ट्रको हितमा उपयोग गर्न प्रेरित गरे।
कार्यक्रममा क्याम्पस प्रमुख डा. रामावतार शरणले विद्यार्थीहरूलाई उच्च अनुशासन कायम राख्दै लगनशीलताका साथ पठनपाठनमा समर्पित हुन आग्रह गरे।
उनले विद्यार्थीहरूको सिकाइलाई सहज, प्रभावकारी र समयसापेक्ष बनाउन क्याम्पस प्रशासन सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, व्यवस्थापन सङ्कायका सहायक क्याम्पस प्रमुखद्वय शिवनारायण चौधरी र रवि रोका तथा बीबीए कार्यक्रमका निर्देशक मोहनकुमार श्रेष्ठले महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन शिक्षा गुणस्तरीय र उत्कृष्ट रहेको दाबी गर्दै नयाँ भर्ना भएका विद्यार्थीहरूलाई शैक्षिक सफलताको शुभकामना दिए।
कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूको उपस्थिति थियो।
View : 76
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved