Biratnagar, Morang, Nepal
१० असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नयाँ मौसमी प्रणाली भारतमै : आज असर देखिन सक्छ पूर्वी नेपालमा, जोखिम कायमै

उद्‌घोष संवाददाता
९ असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । बंगालको खाडीमा विकसित भएर भारतको जमिनमा प्रवेश गरेको गहिरो न्यूनचापीय प्रणाली अझै नेपालसम्म आइपुगेको छैन । तर, यही प्रणालीका कारण ओसिलो हावा र वर्षा गराउने बादलको प्रभावका कारण कोशी प्रदेशसहित देशका विभिन्न भूभागमा भने लगातार वर्षा भइरहेको छ ।

मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनले उद्घोषलाई दिएको जानकारी अनुसार अहिले उक्त प्रणाली भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा आसपास जमिनमा अवस्थित छ । प्रणाली अझै प्रभावकारी अवस्थामा रहेपनि उत्तर–उत्तरपश्चिम दिशातर्फ सर्दैछ । 

भारतको मौसम विभागका अनुसार बिहीबार (२४ सेप्टेम्बर) बिहान प्रणाली उत्तर तटीय आन्ध्र प्रदेश र दक्षिण ओडिसा आसपास थियो र त्यसपछि उत्तर–उत्तरपश्चिमतर्फ सर्दै साँझसम्म कमजोर हुने सम्भावना छ । 

उनका अनुसार यो  प्रणाली कमजोर हुँदैमा त्यसले बनाएको मौसमी प्रभाव तत्कालै सकिँदैन । समुद्रमा विकसित भएको प्रणालीले ठूलो मात्रामा जलवाष्प बोकेर ल्याउँछ । जमिनमा प्रवेश गरेपछि समुद्रबाट प्राप्त हुने ताप र ओसिलोपनको स्रोत घट्ने भएकाले प्रणाली कमजोर हुँदै जान्छ । तर, त्यससँगै आएको ओसिलो हावा र बादल ठूलो क्षेत्रमा फैलिसकेका हुन्छन् । त्यसैले मूल प्रणाली कमजोर हुँदै गए पनि त्यसको प्रभाव केही समयसम्म कायम रहन सक्छ ।

मौसमविद् महर्जनका अनुसार अहिले नेपालमा देखिएको वर्षालाई यही प्रक्रियाले पनि प्रभावित गरेको छ । 

‘मौसमी प्रणाली नेपाल प्रवेश गर्नेभन्दा पनि अहिलेको अवस्थाबाट उत्तर–पश्चिमतर्फ सर्दै नेपालनजिक आउने सम्भावना छ,’ उनले भनिन् ।

उनका अनुसार कोशी प्रदेशमा भने बिहीबार रातिदेखि शुक्रबार दिउँसो र साँझसम्म यो प्रणालीको प्रभाव रहने सम्भावना छ । यस अवधिमा प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद् महर्जनले बताइन् ।

उनका अनुसार शुक्रबारपछि प्रणालीको प्रभाव क्रमशः घट्दै जानेछ । 

शुक्रबार रातिदेखि मध्यम वर्षाको सम्भावना बढ्दै जाने र भारी वर्षाको सम्भावना क्रमशः कम हुने अनुमान छ ।

यसको अर्थ शुक्रबारपछि कोशीमा पानी पर्नै छाड्ने भने होइन । प्रणालीको प्रभाव घट्दै गए पनि मनसुनको प्रभाव कायमै रहेकाले हल्कादेखि मध्यम वर्षा जारी रहन सक्ने मौसमविद्हरू बताउँछन् । 

महर्जनका अनुसार पछिल्लो रातदेखि पूर्वी तथा मध्य नेपालमा प्रणालीको प्रभाव देखिएको छ । अब यसको प्रभाव क्रमशः मध्य हुँदै पश्चिमतर्फ सर्दै जानेछ । 

शुक्रबार र शनिबारबाट मौसममा बिस्तारै सुधार हुँदै जाने तथा आइतबार र सोमबारसम्म थप सुधार हुने सम्भावना रहेको उनले बताइन् ।

नेपालमा अहिले भइरहेको वर्षालाई बुझ्न एउटा कुरा छुट्याउनुपर्ने हुन्छ । भारतमा रहेको न्यूनचापीय प्रणाली आफैं नेपाल प्रवेश गरेको होइन । तर त्यससँग सम्बन्धित ओसिलो हावा र वर्षा गराउने बादल नेपालसम्म आइपुगेका छन् । 

वायुमण्डलमा जलवाष्प र बादललाई एक ठाउँबाट अर्को ठाउँमा लैजान हावाको भूमिका हुन्छ । भारतको जमिनमा प्रवेश गरेपछि न्यूनचापीय प्रणाली कमजोर हुँदै गए पनि त्यससँग सम्बन्धित ओसिलो हावा नेपालतर्फ फैलिएको हो ।

त्यसमाथि नेपालमा मनसुनी प्रभाव पूर्णरूपमा हटिसकेको छैन । पश्चिमी वायुको समेत केही प्रभाव रहेको मौसमविद्हरू बताउँछन् । 

यी विभिन्न मौसमी अवस्थाको संयोजनले अहिले वर्षाका लागि अनुकूल वातावरण बनाएको छ । त्यसैले अहिले नेपालमा परिरहेको प्रत्येक वर्षालाई बंगालको खाडीबाट विकसित एउटै प्रणालीको प्रत्यक्ष परिणामका रूपमा बझ्न नमिल्ने मौसमविद्हरूको भनाइ छ । 

मनसुनको बाँकी प्रभाव, पश्चिमी वायु र भारतबाट आएको ओसिलो हावाको संयोजनले वर्षाको गतिविधि बढाएको हो ।

कोशी प्रदेशका केही स्थानमा बिहीबार बिहानैबाट वर्षा भइरहेको छ । प्रदेशका केही क्षेत्रमा वर्षाको क्रम केही रोकिएजस्तो देखिए पनि पहाडी तथा हिमाली भूभागमा वर्षा जारी रहेको मौसमविद् महर्जनले बताइन् । 

कोशीका लागि भने जोखिमको मुख्य समय शुक्रबारसम्म रहने देखिन्छ । विशेषगरी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा हुँदा पहिरो तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्ने जोखिम रहन्छ । 

तराई क्षेत्रमा भने लगातार वर्षासँगै सडक तथा बस्तीमा पानी जम्ने समस्या आउन सक्छ ।

‘प्रणाली नजिक आउँदै गर्दा हावाको गति केही बढ्न सक्छ । यसको प्रभाव परेको क्षेत्रमा हावाहुरी हुन सक्छ,’ उनले भनिन् । 

कोशीको तराई क्षेत्रमा यसले अर्को जोखिम पनि बढाउन सक्छ । भारी वर्षासँगै तीव्र हावा चलेमा रूख, बिजुलीका खम्बा तथा कमजोर संरचनामा क्षति पुग्न सक्छ । 

खेतबारीमा पाक्न थालेका बालीमा समेत वर्षा र हावाको असर पर्न सक्छ । अहिलेको प्रणाली एकाएक भारतमा बनेको होइन । यसको विकास बंगालको खाडीमा भएको हो । 

भारतीय मौसम विभागले सेप्टेम्बर १९ आसपास अन्दमान सागर तथा आसपासका क्षेत्रमा न्यूनचापीय प्रणाली विकास हुन सक्ने सम्भावना औंल्याएको थियो । त्यसपछि सेप्टेम्बर २१ सम्म आइपुग्दा उत्तर–पश्चिम बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भयो ।

क्रमशः बलियो हुँदै गएको प्रणाली सेप्टेम्बर २२ मा डिप्रेसन र त्यसको भोलिपल्ट डीप डिप्रेसनको अवस्थामा पुगेको थियो । त्यसपछि यो उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्रतर्फ सरेको हो । 

भारतको मौसम विभागका अनुसार २३ सेप्टेम्बर साँझ यो प्रणाली कलिंगपट्टनम नजिक थियो र उत्तर–पश्चिमतर्फ सर्दै उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको भूभागमा प्रवेश गरेको थियो । 

२४ सेप्टेम्बर बिहान भने यसको केन्द्र उत्तर तटीय आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा आसपास थियो । समुद्रमाथि बनेका न्यूनचापीय प्रणालीलाई समुद्रको ताप र जलवाष्पले ऊर्जा दिन्छ । 

समुद्रबाट जमिनतर्फ सरेपछि त्यो ऊर्जा र जलवाष्पको आपूर्ति घट्छ । त्यसैले प्रणाली सामान्यतया कमजोर हुँदै जान्छ ।

बंगालको खाडीको प्रणाली कमजोर हुँदै जानु र नेपालबाट मनसुन बाहिरिनु पनि एउटै प्रक्रिया होइन । तर हालको प्रणालीको प्रभाव कमजोर हुँदै गएसँगै मनसुन बाहिरिने क्रम अघि बढ्ने सम्भावना छ । 

मौसमविद् महर्जनका अनुसार हालको मौसमी प्रणाली कायम रहेसम्म नेपालमा मनसुनी प्रभाव रहनेछ । प्रणाली कमजोर हुँदै गएपछि मनसुन पनि क्रमशः बाहिरिने सम्भावना छ । 

‘हालसम्म नेपालमा मनसुन कायमै छ । प्रणाली कमजोर भएपछि मात्र मनसुन बाहिरिने प्रक्रिया अघि बढ्नेछ,’ उनले भनिन् ।

View : 59

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved