नेकपा एमाले सुनसरी अधिवेशन
सुनसरी । नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशन लम्बिएको छ । सोमबार मतदान सुरु गरी अधिवेशन सम्पन्न गर्ने भनिएकोमा उम्मेदवारको अन्तिम नामवली राति अबेरसम्म प्रकाशित हुन सकेको छैन ।
निर्वाचन प्रक्रिया लम्बिएपछि अध्यक्ष पदका उम्मेदवार खेमराज पोखरेलले संस्थापन पक्षले जालझेल सुरु गरेको आरोप लगाएको छ । एमाले सुनसरीको आठौं अधिवेशनमा पोखरेल फेरि अध्यक्षमा प्रत्यासी बनेका छन् । यसअघि गत २०७८ पुस महिनामा भएको सातौं अधिवेशनमा उनी रेवतिरमण भण्डारीसँग पराजित भएका थिए ।
यस पटक भण्डारीले आफ्नो समर्थनमा बराहक्षेत्र नगरपालिकाका पूर्वमेयर निलम खनाललाई अध्यक्षमा अघि सारेका छन् । खनाललाई संस्थापन पक्ष भनेर चर्चा गरिएको छ । भण्डारीबाहेक खनाललाई पार्टीका जिल्ला इञ्चार्ज पूर्वमुख्यमन्त्री शेरधन राईले पनि समर्थन गरेका छन् । कोशी प्रदेशमा अहिले राईसहित मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको समीकरण बनेको छ ।
यस्तै अध्यक्षका उम्मेदवार पोखरेललाई अर्का पूर्वमुख्यमन्त्री भीम आचार्यले समर्थन गरेका छन् । आचार्यसहित अधिकांश १० बुँदेले पोखरेललाई समर्थन गरेको अधिवेशन आयोजक कमिटीका एक सदस्यले बताए । अध्यक्षका दुवै उम्मेदवारले आ–आफ्नो प्यालन खडा गरेका छन् ।
पोखरेलको प्यानलबाट उपाध्यक्षमा नन्द बस्नेत, सचिव पदम लिम्बू, उपसचिव देवानन्द मेहता र कमला मगरले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै, खनालको प्यानलबाट उपाध्यक्षमा पर्शुराम यादव, सचिव राम कोइराला, उपसचिव याम सुब्बा र इन्द्रकला राईले उम्मेदवारी दर्ता गरेका छन् ।
जारी जिल्ला अधिवेशनमा एक सय ३५ पदका लागि दुई सय ८१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृत गोविन्द मिश्रका अनुसार अध्यक्षका पदका लागि पोखरेल र खनाल दुई जनाको मात्र उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी उपाध्यक्ष र सचिवमा पनि दुई/दुई जनाको मात्र उम्मेदवारी परेको छ ।
उपसचिवमा भने ६ जनाको मनोनयन दर्ता भएको छ । उपसचिवमा उम्मेदवारी दिएका कृष्ण भट्टराई र भीम पोखरेलको प्यानल नखुलेको बुझिएको छ । यद्यपि उनीहरू खनाल प्यानलको भएको एक प्रतिनिधिले बताए । यस्तै लेखा आयोगमा नौ जनाको मनोनयन दर्ता भएको छ । मतदान मंगलबार बिहानबाट हुने निर्वाचन समितिले जनाएको छ ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दुई दिनअघि शनिबार उद्घाटन गरेको अधिवेशनमा पहिला सर्वसम्मत नेतृत्व छान्ने प्रयास भएको थियो । सर्वसम्मत रूपमा नेतृत्व छनौटमा समस्या भएपछि नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको हो । अधिवेशनमा ७ सय ३० प्रतिनिधि सहभागी छन् ।
View : 232
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved