Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

समृद्ध मुलुक निमार्णमा एमाले सरकारको विकल्प छैन : ओली

गोकुल भुजेल
२७ मंसिर २०८०, बुधवार

भोजपुर, २७ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निमार्णमा एमाले नेतृत्वको सरकारको विकल्प नभएको बताएका छन् । 

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प अभियान अन्तरगत बुधबार भोजपुर सदरमुकाम आइपुगेका अध्यक्ष ओलीले पार्टीद्वारा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन सरकारले आम जनतालाई दुःख र आर्थिक भार दिएको आरोप लगाए ।

उनले देशमा राजनैतिक, सामाजिक, आर्थिक तथा जुनसुकै क्षेत्रमा अस्थिरता बढेको र यसले देशको समग्र विकासमा बाधा उत्पन्न भएको दावी गरे । एमालेसँग एक्लै लड्ने गठबन्धनका कुनैपनि पार्टीको हिम्मत नभएको बताउँदै उनले आफुहरुको अभियानसँगै मिसन–८४ मा लाग्न सबै नेता कार्यकर्ताहरुलाई आव्हान गरे । साथै सबै क्षेत्रमा पार्टीले अनिवार्य ५१ प्रतिशत मत ल्याएर मिसन पुरा गर्नुपर्ने बताए ।

बुधबार भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपुर्ण र भोजपुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसअघि सरकार निर्माणको क्रममा गठबन्धनले जालझेल गरेर अदालतको सहारामा सरकार ढालेको आरोप लगाए ।

उनले आगामी चुनावमा एमाले एक्लै दुई तिहाई ल्याई पुर्ण कार्यकाल सरकार चलाउने दाबी गरे ।

भोजपुर सदरमुकामको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीलाई एमाले जिल्ला अध्यक्ष शरणकुमार राईले जिल्लाको विकासका लागि गुरुयोजनाको प्रस्ताव हस्तान्तरण गर्दै बजेट ब्यवस्थापनका लागि माग गरेका थिए ।

संकल्प यात्रा अन्तरगत मंसिर २८ गते अध्यक्ष ओली नेतृत्वको टोली भोजपुर सदरमुकामको शहिद पार्कमा शहिदको शालिकमा माल्यार्पण, बहुस्तरीय रंगशाला उद्घाटन, टक्सार बजार अवलोकन गरी तिवारी भञ्ज्याँङमा अन्तरक्रिया गर्दै धनकुटा हुँदै तेह्रथुम प्रस्थान गर्ने योजना रहेको नेकपा एमाले भोजपुरले जनाएको छ ।

उक्त यात्रामा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत उपमहासचिव, सचिव, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिकसहितको विज्ञ टोली सहभागी रहेको जनाइएको छ ।

मंसीर १४ गतेबाट सुरु भएको संकल्प यात्राको टोली पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

View : 168

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved