विराटनगर । नेपाल न्यूरो सर्जनको ११ औं राष्ट्रिय सम्मेलन सुनसरीको इटहरीमा शुक्रबारदेखि सुरु हुने भएको छ । न्यूरो सर्जन समाजले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने सम्मेलन दुई दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
सम्मेलनमा देशभरिका न्यूरो सर्जनहरूको सहभागिता रहने नेपाल न्यूरो सर्जन समाजका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डा.यमबहादुर रोकाले बताए ।
सम्मेलनमा देशभरिका न्यूरो सर्जनसहित सम्बन्धित विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक, फिजियोथेरापिष्ट तथा नेपाल बाहिरका विशेषज्ञ गरेर करिब १५० बढी सहभागी रहने उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै न्यूरो सर्जन समाजका वरिष्ठ उपाध्यक्ष न्यूरो सर्जन डा.सुदन ढकालले सम्मेलनमा एक सय भन्दा बढी अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुने बताए ।
‘दुई दिनसम्म चल्ने सम्मेलनमा विदेशबाट आएका चिकित्सकहरूको पनि सहभागिता रहन्छ । विज्ञ समूहबाट एक सय भन्दा बढी अनुसन्धान कार्यपत्र प्रस्तुत हुनेछ,’ उनले भने, ‘विभिन्न विधाहरूमा सर्वश्रेष्ठ कार्यपत्र प्रस्तुतिलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ ।’
न्यूरो सर्जन समाजको राष्ट्रिय सम्मेलन पूर्वमा पहिलो पटक हुन लागेको हो ।
न्यूरो सर्जरी सेवाको विस्तारसँगै आम जनतामा चेतना फैलाउनका साथै त्यस क्षेत्रमा कार्यरत चिकित्सकहरूको मनोबल वृद्धि गर्न सम्मेलन महत्वपूर्ण हुने अध्यक्ष रोकाले बताए ।
राष्ट्रिय सम्मेलनको अवसर पारेर समाजले बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एकदिने कार्यशाला गोष्ठी पनि आयोजना गरेको छ । उक्त गोष्ठीमा विज्ञ चिकित्सकहरूले विभिन्न विषयहरूमा जानकारी गराएका छन् ।
View : 300
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved