Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण र वृहत एकता

हरि काफ्ले
३० कार्तिक २०८२, आइतवार

भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसको पृष्ठभूमि, फैलावट र परिणामको सूक्ष्म विश्लेषणबिना गरिएको बामपन्थी एकताले भड्किएको नेपाली समाजका जायज मागलाई संवोधन गर्न सक्दैन । २०५१ सालपछिको बामपन्थी आन्दोलन दक्षिणपन्थी अवसरवाद र उग्र बामपन्थीधारबाट अगाडि बढ्ने क्रममा २०६३–६३ को जनआन्दोलनपछि क्रमशः दक्षिणपन्थी अवसरवादमा रुपान्तरण हुँदै गयो ।

अनि फेरि सत्ता, निर्वाचन, अनि फेरि सत्ताको खेलभन्दा अगाडि जान सकेन । पार्टीभित्र उठेका जायज क्रान्तिकारी विचारलाई बहुमतको डण्डा वर्षाएर दबाउने काम भयो । नेपाली राज्य व्यवस्थालाई समाजवादतर्फ रुपान्तरण गर्ने कुनै ठोस योजना बन्न सकेन । पछिल्लो पुस्ताको नेतृत्व अहिलेको बदलिंदो राज्य व्यवस्था र नेपाली समाजको बदलिएको दृष्टिकोण अनुरुपको व्यवहार र कार्यशैलीलाई रुपान्तरण गर्न चाहेन, रुपान्तरण हुन चाहेन । 

दक्षिणपन्थी अवसरवादको दलदलमा फसेर प्रत्यक्ष वा परोक्षरुपमा बदलिंदो भूराजनीतिको एउटा कित्ता अमेरिकी साम्राज्यवादको पिछलग्गु हुन पुग्यो । जसले पश्चिमी साम्रँज्यवादले देशलाई राज्यबिहीन अवस्थामा पुर्‍याउने सबैखाले संयन्त्रलाई निष्प्रभावी बनाउन सफल भयो ।

संसद विघटन, एमसीसीप्रतिको मोह र त्यसलाई संसदबाट पारित, अदालतको फैसलाबाट नेकपा विभाजन, दुई तिहाईको बलमा केपी ओलीको निरंकुश सत्ता सञ्चालनको कार्यशैली, प्रचण्डको सत्ता स्वार्थले पटक–पटक सत्ता गठबन्धनको परिवर्तन भइरर्‍यो ।

 माधव नेपालको सत्तामोहबाट कहिले एमालेको समीकरण त कहिले कांग्रेसको सत्ता समीकरणको वरिपरी रमाउने प्रवृत्तिले बाम आन्दोलन विचौलियाको घेराबन्दीमा परेर दक्षिणपन्थी अवसरवादमा रुपान्तरण हुन पुग्यो । यो अवस्थाको सूक्ष्म विश्लेषण गरिरहेका अमेरिकी साम्राज्यवादले विभिन्न स्वार्थ समूहलाई लामो समयदेखि संगठित गर्दै लग्यो । त्यसकै परिमाणस्वरुप भाद्र २३ र २४ गतेको हिंसात्मक आन्दोलनले राजनीतिक दल, राज्य संयन्त्र सबैतिर प्रहार गरी शून्यतामा परिणत हुनपुग्यो । 

अहिले देश बामदलको एकता ‘रमझम’ देखाएर गरिएको छ । यो एकता आदोलनलाई क्रान्तिकारी उद्धारतर्फ लैजान गरिएको होइन, यो त दक्षिणपन्थी अवसरवादलाई बलियो बनाउन विभिन्न स्वार्थ समूहको आफ्नो विगतको अपराधलाई छोप्न र क्रान्तिलाई विसर्जनतर्फ लैजान भएको एकता हो ।

सबै कम्युनिष्ट पार्टीभित्र रहेका क्रान्तिकारीहरुले पछिल्लो पुस्ताको नेतृत्व गलत दिशामा दिनप्रतिदिन स्खलित भएकाले पुनर्गठन पहिलो आवश्यकता हो । अहिलेसम्म प्रयोग गरिएका व्यवहार समयसापेक्ष हुन सकेन, तसर्थ व्यवहार र कार्यशैलीमा रुपान्तरण अहिलेको दोस्रो कार्यभार हो । यी दुईवटा कार्यभार पूरा नगरी गरिने बामपन्थी एकताले निकास दिन सक्दैन । यही निष्कर्षका आधारमा हामीले नेकपा (एकीकृत समाजवादी)भित्र बारम्बार पुनर्गठनको मुद्दा उठायौं, अध्यक्षलाई लागेको भ्रष्टाचारको मुद्दामा हामीले ‘राजनीतिक पूर्वाग्रह’ हो  भन्याै‌ ।

साथै नैतिकताको प्रश्न अदालतले नै उठाएर धरौटी माग गरेपछि कमरेड माधवकुमार नेपाललाई नेतृत्वबाट हटाउन पटक–पटक अनुरोध ग-यौ । तर, नेकपा एसको केन्द्रीय कमिटीमा  असी जना थप गरेर बलमिच्याइँपूर्वक बहुमतको आधारमा स्वार्थपरक एकता माओवादीसँग गर्ने र आफू नेतृत्वबाट नहट्ने र आन्दोलनलाई रुपान्तरणको दिशामा जान नदिने हर्कतलाई हामीले टुलुटुलु हेरेर बस्न सकेनौं । 

महासचिव घनश्याम भूषालको नेतृत्वमा हामीले बिद्रोह गर्ने निर्णय १५ कात्तिकको भेलाबाट गर्‍यौं । १५० जनाभन्दा बढी केन्द्रीय कमिटी सदस्यको उपस्थितिमा राष्ट्रिय एकता कार्यकर्ता भेलासम्म सबै कामको संयोजन गर्न क घनश्याम भूषाललाई दिने निणर्य गर्‍यौं ।

पटक–पटकको प्रचण्ड र माधव नेपालसँगको वार्तामा पहिलो पुस्ताले नेतृत्व छाडेर अभिभावकीय भूमिकामा रहन अनुरोध ग-यौं । तर, पदप्रतिष्ठा दिने र भुलुभुलैयामा राख्ने खालका व्यवहार देखिएकोले हामीले एकीकृत समाजवादीलाई पुनर्गठन गर्दै सबै क्रान्तिकारी कम्युनिष्टहरुस“ग बृहत बामपन्थी एकता गर्दै दक्षिणपन्थी अवसरवादविरुद्ध सशक्त प्रतिवाद गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्न जुट्ने प्रण गर्‍यौं । यो नै अहिलेको सही कार्यभार हो । 

‘चुनाव अनि फेरि चुनाव’ र ‘सत्ता अनि फेरि सत्ता’को कार्यदिशा गलत हो र यसले कम्युनिष्ट आन्दोलनलाई विघटनको दिशातर्फ लैजान्छ । यस तमाम खाले विकृति र विसंगतिविरुद्धको अँन्दोलन अहिलेको प्रमुख आवश्यकता हो । सबैखाले दक्षिणपन्थी अवसरवादको विरुद्ध सशक्त ढंगले प्रतिरोध गर्दै सबै क्रान्तिकारीहरु एउटै नारा र उद्देश्य लिएर क्रान्तिको  एउटै झण्डामुनि बुलन्द गर्न एकताबद्ध हौं ।

सबैखाले झुटा आश्वासन र जालझेलमा नफँसौं । सबै गाउँ, जिल्ला, प्रदेश, जनसंगठन प्रवासमा रहनु हुने कमरेडहरलाई पार्टी पुनर्गठनको महान अभियानमा संलग्न हुन आह्वान गर्दछौं । 

कम्युनिष्ट आन्दोलनभित्रको दक्षिणपन्थी अवसरवादको निर्मम ढंगले समीक्षा गर्दै भाद्र २३ गते जेनजीले उठाएका जायज मुद्दालाई संवोधन हुने गरी अबका कार्ययोजना बनाउनै पर्छ । कम्युनिष्ट आन्दोलनभित्र मौलाएको व्यक्तिवादलाई परास्त गर्र्दै नीतिप्रधान कार्यशैलीको विकास अहिलेको आवश्यकता हो । जनवादी केन्द्रीयतालाई कमिटी प्रणालीभित्र निसंकोच प्रयोग गर्न वातावरण निर्माण गरौं ।

लेनिनवादीको संगठानात्मक प्रणालीलाई बलियो बनाउनु अहिलेको प्रमुख आवश्यकता हो । कमिटी प्रणालीभित्र हराएको रचनात्मक आलोचना र आत्मलोचनालाई रचनात्मक तरिकाले कमिटी प्रणालीमा लागू गरौं । योग्यता क्षमताको आधारमा मापदण्ड बनाई कमिटी प्रणालीभित्र सबै कमरेडहरुलाई संगठित गर्ने प्रणालीको विकास गरौं ।
 

दक्षिणपन्थी अवसरवादी एकतामा विद्रोह गर्न भएका सबै कम्युनिष्ट पार्टीका क्रान्तिकारीहरुलाई एउटै झण्डामुनि गोलबन्द गर्न हामीले सुरु गरौं । विद्रोह कठिन हुन्छ , चुनौतीका पहाड छन् । तर, त्यसभित्र अवसर पनि सँगसँगै लुकेको हुन्छ । चुनौतीका पहाडसँग लड्दै अवसरको सिर्जना गरौैं । हतास मनिस्थितिले क्रान्तिका लक्ष्य हासिल हुन सक्दैन । उच्च मनावेलका साथ चुनौतीको सामना गर्दै अघि बढौं । तब मात्र क्रान्तिको गन्तब्य भेट्न सकिन्छ । 

व्यवहारमा सरलता र निस्पक्षता, जनताका दैनिकीमा एकाकार सबैखाले विसंगति र विकृतिविरुद्ध प्रहार गर्दै आ–आफ्नो ठाउँबाट हिजो भएका कम कमजोरीलाई क्षमायाचना गर्दै हमीले उठाएका पवित्र मुद्दाहरुलाई टोल–टोलमा पुर्‍याऔं ।

देशभक्त नेपाली जनताहरुले हाम्रो मुद्दाहरुलाई हातेमालो गर्नेछन् । विघटनको दिशातर्फ गएको कम्युनिष्ट आन्दोलन पुनः उठ्ने छ । मार्क्सवाद–लेलिनवादलाई मार्गदर्शन सिद्धान्त र नेपाली विशेषताको समाज नै हाम्रो मुख्य गन्तब्य हो । 

नेपाली विशेषताको समाज स्थापना गर्न कम्युनिष्ट आन्दोलनभित्र देखा परेका सबैखाले विकृति, विसंगति र दक्षिणपन्थी अवसरवाद एवं मौलाएको पुँजीवाद नै अहिलेको मुख्य वर्गसत्रु हो । प्रहारको निशाना त्यतैतर्फ केन्द्रित गर्दै राज्यका सबै क्षेत्रमा पुनर्गठनको प्रक्रिया आवश्यक छ । यी महान कार्य गर्न सशक्त संगठन,  सबल कार्यकर्ता, प्रष्ट कार्यदिशा निर्माण गर्दै अगाडि बढौं । यो नै अहिलेको मुख्य कार्यभार हो । 

मंसिरको पहिलो हप्तामा हुने राष्ट्रिय कार्यकर्ता भेलाबाट हाम्रो गन्तब्य पहिचान गर्दै अघि बढ्न सबै कमिटीमा आवद्ध कमरेडहरुलाई हार्दिक आह्वान गर्दछु । 
                                        (काफ्ले एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य हुन् ।)

View : 403

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved