विराटनगर । खुट्टाको घाउबाट पिप बगेको, शरीरका कपडा फोहरले गन्हाउने, कपाल लट्टा पर्न लागेको अवस्थामा बेवारिसे युवकलाई मंगलबार मोरङ कटहरी ४ नयाँ बजारबाट उद्धार गरिएको छ ।
कति दिनदेखि भोको अवस्थामा रहेका अन्दाजी २२ वर्षीय युवक मानसिक सन्तुलन गुमाएर घारबारबिहीन भएका थिए । उनलाई उद्धार गरेर मानव सेवा आश्रम विराटनगरमा बुझाइएको छ । नाम, ठेगाना बताउंन नसक्ने युवक शारीरिक रुपमा तन्दुरुस्त देखिन्छन् ।
सुनौलो पूर्व नेपाल यातायात ब्यवसायी सेवा प्रालीका उपाध्यक्ष प्रकाश कार्कीले पोखरियास्थित आश्रममा बुझाएर उनको जीवन रक्षाको आग्रह गरेका छन् । जे सोधेपनि त्यही जवाफ दिने ती युवाले आफ्नो नाम भनें अखिलेश यादव बताएका छन् । उनी मैथली मात्रै बोल्छन् ।
बोलीका आधारमा उनी सुनसरीका बासिन्दा भएको हुन सक्ने अनुमान गरिएको छ । नयाँ बजारमा उद्घोष प्रतिनिधि कमल रिमालले दुई वटा बिस्कुटको प्याकेट दिएपछि ति युवकसँगै जान तयार भएका थिए । सो आश्रममा पुरुषलाई र तीनटोलियाको आश्रममा महिला र बालबालिकालाई राख्ने गरिएको छ ।
आश्रमका अध्यक्ष लीला ढुङ्गेलका अनुसार दुबैतर्फ गरेर आश्रित एक सय ४५ जना छन् । त्यसमा पुरुष ८०, महिला ५७ र ८ जना बालबालिका छन् । आश्रमले विराटनगरका दुई स्थानमा भाडाका घरबाट सेवा दिंदै आएकोमा आफ्नै घर बनाउंने योजना बनाएको उनले बताए ।
View : 120
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved