कोशी प्रदेश मन्त्रिपरिषद बैठक
विराटनगर । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयको शीर्षकमा रहेको अबण्डा रकम बण्डा गर्ने निर्णय गरेको छ ।
पुस मसान्त पछाडि सम्बन्धित मन्त्रालयको बजेट शीर्षक संशोधन गर्न पाउने कानुनी व्यवस्था अनुसार प्रदेश सरकारले अबण्डामा रहेको रकम टुक्र्याउने र बण्डा गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले जानकारी दिए ।
सरकारले कोशी प्रदेश नामकरणपछि भएको आन्दोलनका सहभागी भएका पदम लिम्बू (लाजेहाङ) को परिवारलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
‘पदम लिम्बूको परिवारजनलाई ५ लाख राहत दिने र आन्दोलनका क्रममा घाइते भएकाहरूको छानविनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णय भएको छ’ मन्त्री राईले भने, ‘आन्दोलनका अरु घाइतेहरुको पहिचान गरेपछि उपचारलगायतका विषयमा थप प्रक्रिया अघि बढाइने छ ।’
गत चैत ५ मा भएको आन्दोलनका सहभागी भएर फर्किएका लिम्बू केहिदिनपछि बिरामी परेका थिए । उनको उपचारका क्रममा चैत १० मा मृत्यु भएको थियो । मृत्युपछि तत्कालिन प्रदेश सरकारले चैत १२ गते तत्काल तीन लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो ।
तर आन्दोलनरत पक्षले भने कोशी नामकरण खारेजी नभएसम्म कोशी सरकारकै नामबाट कुनैपनि राहत नलिने घोषणा गरेका थिए । सोही कारण परिवारले राहत रकम पाएका थिएनन् ।
मन्त्रिपरिषद् बैठकले उर्लाबारी नगरपालिकामा गत कात्तिक २६ राति भएको आगलागी घटनामा जलनमा परेर मृत्यु भएका र घाइते भएर झापा र मोरङमा व्यक्तिहरुको उपचारका क्रममा लागेको खर्च व्यहोर्ने निर्णय गरेको छ ।
त्यस्तै सरकारले अन्तर प्रदेश खेलकुद प्रतियोगितालाई बजेट अभाव भएको भन्दै थप बजेट माग भएका कारण त्यसका लागि बजेट थप गर्ने र थप बजेट निकासा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले सामाजिक विकास मन्त्रालयले सुरक्षित आप्रवासन सम्बन्धि निर्देशिका २०८० पारित गरेको छ । ऊक्त कार्यत्रम कोशी प्रदेशका ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा जिल्लामा संचालित हुने जनाइएको छ ।
View : 128
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved