गोठगाउँ । पूर्वाञ्चल विश्वविद्यालयले ३१ औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कार्य गर्ने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा आयोजित कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरूमा शिक्षकतर्फ पूवि स्कूल अफ हेल्थ साइन्सेजकी उप–प्राध्यापक रीता प्रधान, कर्मचारीतर्फ पूवि कलेज अफ लका मुख्य सहायक राजकुमार बास्तोला र कार्यालय सहयोगीतर्फ पूवि परीक्षा व्यवस्थापन कार्यालयका गगन मुडियारी छन् ।
शिक्षक प्रधान र कर्मचारी बास्तोलालाई नगद ५१ हजार सहित उत्कृष्ट सेवा पदक प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ । कार्यालय सहयोगी मुडियारीलाई भने प्रोत्साहन स्वरूप दुई ग्रेड थप गरी पुरस्कृत गरिएको छ ।
कार्यक्रममा विश्वविद्यालय अन्तर्गत सञ्चालित क्याम्पस÷ कलेजहरूमध्येबाट नमुना कलेज फेशन टेक्नोलोजी, बाँसबारी, काठमाडौंलाई उत्कृष्ट कलेजका रूपमा सम्मान गरिएको छ ।
त्यसैगरी २० वर्ष सेवा अवधि पूरा गरेका तीन जना कर्मचारी र आठ जना शिक्षकहरूलाई दीर्घसेवा पदकसहित सम्मान गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा बिजयीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको विश्वविद्यालयले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलियाले आफ्नो कार्यकाललाई सकेसम्म उपलब्धिपूर्ण बनाउने कार्ययोजनाका साथ काम गरिरहेको बताए ।
शिक्षक तथा कर्मचारीहरूको वृत्तिविकासको प्रक्रिया अगाडि बढाइएको र केही कार्यविधिहरू तयारीको काम अन्तिम चरणमा पुर्याइएको उनले बताए ।
‘विश्वविद्यालयको प्राज्ञिक गरिमा उचो राख्न सबै पक्षबाट सहयोगको अपेक्षा छ’, उनले भने, ‘त्यसका लागि प्रशासनिक उन्नयन पनि उत्तिकै जरूरी छ ।’
विद्यार्थी भर्ना संख्या घट्दै गएको परिस्थितिमा विश्वविद्यालयलाई प्राज्ञिक गन्तव्यमा पुर्याउन स्पष्ट लक्ष्य र कार्ययोजनाका काम गर्नुुपर्नेमा जोड दिँदै उपकुलपति थपलियाले भने ‘यो वर्ष म मेरो जिम्मेवारी पूरा गर्छु भन्ने आदर्श वाक्यलाई ध्यानमा राखेर कार्य गर्न सबैलाई आह्वान गर्छु ।’
रजिस्ट्रार नीलमणि पोखरेलले विश्वविद्यालयलाई अझै प्राज्ञिक उचाइमा पुर्याउन सबैको साथ–सहयोगको खाँचो औँल्याए ।
३०औँ वार्षिकोत्सवबाट थालनी गरिएको उत्कृष्ट शिक्षक तथा कर्मचारी छनौट गरी पुरस्कृत गर्ने प्रक्रियालाई यस वर्ष पनि निरन्तरता दिइएको उनले जानकारी दिए । कार्यकारी परिषद्को सर्वसम्मत निर्णय र निष्पक्ष मूल्याङ्कनका आधारमा उत्कृष्ट शिक्षक तथा कर्मचारी छनौट गरिएको उनले बताए ।
कार्यक्रममा कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन प्राडा अनिलकुमार पोखरेल, इञ्जिनियरिङ संकायका डीन प्राध्यापक देवीप्रसाद भट्टराई, पूवि प्राध्यापक संघका सभापति यज्ञप्रसाद जमरकट्टेल, कर्मचारी संघका सभापति रूपेश बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको उल्लेख्य उपस्थिति रहेको थियो ।
View : 70
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved