Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पथरीमा पुल जोखिममा, वैकल्पिक सडकबाट सवारी सञ्चालन

मणिराम दाहाल
२२ पुष २०८२, मङ्गलवार

सुन्दरहरैंचा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका जोड्ने मोरङ्गी खोलामाथिको पुल जोखिमपूर्ण बनेपछि सवारी आवागमनमा समस्या देखिएको छ ।

एशियन हाईवे निर्माणका क्रममा पुलमा क्षति पुगेपछि कुनै पनि बेला भत्किन सक्ने अवस्था देखिएको भन्दै सुरक्षाका कारण पुल हुँदै जाने–आउने सवारी आवागमन रोक्का गरिएको छ । 

इलाका प्रहरी कार्यालय पथरीका अनुसार पुलको संरचनामा चिरा परेको र भार बहन क्षमता कमजोर बन्दै गएको प्रारम्भिक निरीक्षणबाट देखिएको छ ।

सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै पुल प्रयोग नगर्न सर्वसाधारण र चालकलाई आग्रह गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै मालवाहक तथा ठूला सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिएको छ ।

हाल कानेपोखरी–लेटाङ–जाँते हुँदै पथरी–शनिश्चरे आवत–जावत गर्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । साना सवारी साधनलाई समेत सावधानी अपनाउन अनुरोध गरिएको छ ।

स्थानीयवासीका अनुसार पुल बन्द भएपछि दैनिक आवत–जावतमा कठिनाइ बढेको छ ।

विद्यालय जाने विद्यार्थी, बिरामी बोकेका सवारी तथा व्यापारिक गतिविधिमा समेत असर परेको उनीहरूको भनाइ छ ।

वैकल्पिक मार्ग लामो र साँघुरो भएकाले समय र खर्च दुबै बढेको स्थानीय व्यवसायीले बताए ।

स्थानीय प्रशासनले पुलको अवस्थाबारे थप प्राविधिक मूल्यांकन नभएसम्म जोखिम मोलेर पुल प्रयोग नगर्न सबैलाई अनुरोध गरेको छ । 

यात्रु सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएकाले सर्वसाधारणलाई सहयोग र संयम अपनाउन आग्रह गरिएको छ ।

एशियन हाइवे निर्माण आयोजना अन्तर्गत भइरहेका कामका कारण पुल आसपासको संरचना कमजोर भएको आशंका गरिएको छ ।

सम्बन्धित निकायलाई पुलको तत्काल मर्मत तथा पुनर्निर्माणका लागि जानकारी गराइएको प्रहरीको भनाइ छ । 

प्राविधिक टोलीबाट विस्तृत निरीक्षण गरी आवश्यक निर्णय लिने तयारी भइरहेको जनाइएको छ ।

View : 139

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved