Biratnagar, Morang, Nepal
२२ साउन २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

पुसोईमा नयाँ विद्यार्थीको स्वागत, अध्ययन पूरा गरेकालाई बिदाइ

उद्‌घोष संवाददाता
२२ साउन २०८३, शुक्रवार

Advertisement

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ (पुसोई) ले इन्जिनियरिङ अध्ययनका लागि नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । पुसोईले शुक्रबार कलेजबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई बिदाइ पनि गरेको हो ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार डा. रमेशबाबु काफ्लेले प्रविधिमा आएको रूपान्तरणसँगै विद्यार्थीहरूले आफ्नो अध्ययनलाई पनि आधुनिक रूपमा अघि बढाउनुपर्ने बताए। उनले पर्याप्त स्रोत–साधन नभए पनि कलेजले अध्ययन–अध्यापन र सिकाइलाई उत्कृष्ट बनाउँदै लगेको बताए ।

रजिस्ट्रार काफ्लेले मुलुकका लागि आवश्यक प्राविधिक जनशक्तिको आवश्यकता इन्जिनियरिङ अध्यापनमार्फत पूरा गर्दै आएको उल्लेख गरे ।

पुसोईमा स्नातकतर्फ सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन तथा इलेक्ट्रिकल इन्जिनियरिङ अध्यापन हुँदै आएको छ । त्यसैगरी स्नातकोत्तरतर्फ कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्फर्मेसन सिस्टम इन्जिनियरिङ, इन्जिनियरिङ म्यानेजमेन्ट, इलेक्ट्रिकल पावर इन्जिनियरिङ तथा एमई इन अर्थक्वेक इन्जिनियरिङलगायत विषयमा अध्यापन हुने गरेको छ ।

शुक्रबार सन् २०२० मा भर्ना भई अध्ययन पूरा गरेका बीई सिभिलतर्फका ७५, कम्प्युटर इन्जिनियरिङका ५३, इलेक्ट्रिकल इन्जिनियरिङतर्फका २४ तथा इसिईका ५ जना विद्यार्थीलाई बिदाइ गरिएको छ ।

त्यस्तै, सन् २०२५ मा बीई सिभिलतर्फ भर्ना भएका ८०, कम्प्युटर इन्जिनियरिङमा ८० तथा इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ३४ जना नयाँ विद्यार्थीलाई स्वागत गरिएको जनाइएको छ ।

पुसोईबाट हालसम्म २२ हजारभन्दा बढी प्राविधिक जनशक्ति उत्पादन भइसकेको जनाइएको छ ।

पुसोईका निर्देशक प्रा.डा. धर्मेन्द्रकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक बालेन्दु हमाल, पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन इ. देवलाल यादवलगायत कलेजका शिक्षक, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

 

View : 20

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved