विराटनगर । जेनजी आन्दोलनका क्रममा भएको आगलागीपछि बस्न अयोग्य बनेको भवन छाडेर कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय विराटनगर–९ देवकोटा चोकबाट विराटनगर–३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको छ ।
नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै मन्त्रालयले साविक लोकसेवा आयोग रहेको निजी भवन एक वर्षका लागि भाडामा लिएर कार्यालय सञ्चालन थालेको हो ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.केनिन राईका अनुसार आगलागीपछि पुरानो भवनको संरचनामा गम्भीर क्षति पुगेको थियो ।
प्राविधिक रूपमा भवन दीर्घकालीन रूपमा प्रयोग गर्न नमिल्ने अवस्था आएपछि मन्त्रालयलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको उनले बताए । आगलागीपछि भवन पूर्ण रूपमा बस्न योग्य रहेन ।
कर्मचारीको सुरक्षा, सरकारी अभिलेखको संरक्षण तथा सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन मन्त्रालय नया भवनमा सारिएको हो, डा. राईले भने ।
मन्त्रालयले पुष्पलाल चोकस्थित निजी भवन एक वर्षका लागि मासिक एक लाख ३५ हजार रुपैयाँ भाडामा लिएको छ ।
नयाँ भवनमा कार्यालय सञ्चालनका लागि आवश्यक सम्झौता सम्पन्न भइसकेको र स्थानान्तरणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।
उनका अनुसार अधिकांश महाशाखा, शाखा तथा फाट नयाँ भवनमा सरेका छन् भने बाँकी सामग्री व्यवस्थापनको काम केही दिनभित्र सम्पन्न हुनेछ । त्यसपछि मन्त्रालयका सम्पूर्ण प्रशासनिक, योजना, वित्त, जनस्वास्थ्य, स्वास्थ्य सेवा व्यवस्थापनलगायत सबै गतिविधि पूर्ण रूपमा नयाँ भवनबाट सञ्चालन हुनेछन् ।
सूचना अधिकारी डा. राईका अनुसार पुरानो भवन तत्काल प्रयोग गर्न सकिने अवस्थामा छैन । भवनको मर्मत तथा पुनर्निर्माण आवश्यक रहेकाले त्यससम्बन्धी प्रक्रिया अघि बढाउने विषयमा प्रदेश सरकारको तहमा छलफल भइरहेको उनले बताए ।
संघीयता कार्यान्वयनपछि मोरङ जनस्वास्थ्य कार्यालय रहेको भवनलाई कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका रूपमा प्रयोग गर्दै आइएको थियो । तर जेनजी आन्दोलनका क्रममा भएको आगलागीले भवनको भित्री संरचनामा क्षति पुगेपछि जोखिम बढेको थियो ।
वैकल्पिक भवन नहुँदा करिब एक वर्षसम्म जोखिमकै बीच मन्त्रालयले सोही भवनबाट सेवा सञ्चालन गर्नुपरेको थियो ।
मन्त्रालयमा हाल ३५ जना कर्मचारी कार्यरत छन् । मन्त्रालयमा नीति निर्माण, योजना तर्जुमा, बजेट व्यवस्थापन, स्वास्थ्य कार्यक्रम सञ्चालन तथा प्रदेशभरिका स्वास्थ्य संस्थँसंग समन्वय लगायतका काम हुँदै आएका छन् ।
मन्त्रालयमा दैनिक करिब १०० देखि १५० जना सेवाग्राही, स्वास्थ्यकर्मी, स्थानीय तहका प्रतिनिधि, विकास साझेदार तथा अन्य सरोकारवालाको आवतजावत हुने गरेको मन्त्रालयले जनाएको छ । जोखिमयुक्त भवनमा सेवा सञ्चालन गर्दा कर्मचारी र सेवाग्राही दुवैको सुरक्षाप्रति चिन्ता बढ्दै गएको थियो ।
राईका अनुसार नयाँ भवनमा कार्यालय कक्ष, अभिलेख व्यवस्थापन, सूचना प्रविधि तथा सेवाग्राहीका लागि आवश्यक पूर्वाधारको व्यवस्था मिलाइएको छ ।
स्थानान्तरणपछि मन्त्रालयको दैनिक प्रशासनिक काम, अन्तरनिकाय समन्वय तथा सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
View : 70
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved