विराटनगर । कोशी अस्पताल विराटनगरले करार सेवामा लिन लागेको नर्सिङ अधिकृत (सातौं तह) पदमा न्युनतम योग्यता स्नातकोत्तर उत्तीर्ण तोकेपछि विवादमा परेको छ ।
अस्पतालले कानुनविपरीत सातौं तहको योग्यताका लागि नवौं तहको योग्यता तोकेको भन्दै नर्सिङ पेशा आवद्ध संगठनले त्यसको विरोध गरेका हुन् ।
अस्पतालले अस्पताल विकास समितिको रिक्त दरबन्दीको पदपूर्तिका लागि पुस १० गते १५ जना मेडिकल अधिकृत, ३१ जना नर्स, तीन जना फार्मेसी अधिकृत र दुई जना बायोमेडिकल इन्जिनियरको लागि दरखास्त आव्हान गरेको छ ।
सो विज्ञापनमा एनआईसीयूको लागि मान्यताप्राप्त शिक्षण संस्थावाट पेडियाट्रिक विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको र नेपाल नर्सिङ परिषद्मा अद्यावधिक भएको नर्सिङ अधिकृत (पेडियाट्रिक) पदमा एक जनाका लागि दरखास्त आव्हान गरेको थियो ।
विज्ञापनमा उल्लेख भएको योग्यता कानुनविपरीत भएको भन्दै पेडियाट्रिक नर्सेस एसोसिएसन अफ नेपालकी अध्यक्ष तथा सहप्राध्यापक अप्सरा पाण्डेले विज्ञापनलाई तत्काल सच्याउन माग गरेकी छन् ।
उनले विज्ञापन नसच्चिए आवेदन नदिन समेत नर्सहरूलाई आग्रह गरेकी छन् । उनले सातौं तहको नर्सिङ अधिकृत पदको लागि नवौं तहमा प्रयोग हुने योग्यता राखेर कानुनको अपमान गरेको समेत बताइन् ।
‘सातौं तहको नर्सिङ अधिकृत पदका लागि नवौं तहमा प्रयोग हुने योग्यता खोजिनु उपयुक्त हुँदैन, यो कानुनविपरीत हो,’ अध्यक्ष पाण्डेले भनिन् ‘हामीले त्यसलाई सच्याउन भनेका छौं, विज्ञापन नसच्चिए आवेदन नदिन सबै नर्सहरूलाई हाम्रो अनुरोध छ ।’
कोशी अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुना झा अस्पतालमा नवौं तहको दरबन्दी नभएका कारण पेडियाट्रिक नर्स खोजिएकोले सातौं तहको दरवन्दीका लागि स्नातकोत्तर योग्यता खोजिएको बताउँछिन् ।
‘हामीले सेवा पनि दिनुछ, दरबन्दी सातौं तहको छ तर पेडियाट्रिक नर्सिङ भनेपछि स्नातकोत्तर भएकै हुनुपर्यो, यो किसिमको व्यवहारिक कठिनाइका कारण हामी पनि बाध्य छौं’ डा. झाले भनिन् ।
उनले आफू पनि मेडिकल क्षेत्रकै व्यक्ति भएकाले कसैको पनि योग्यताको अवमुल्यन हुनु हुँदैन भन्ने ज्ञान भएको बताउँदै भनिन्, ‘अस्पतालमा उक्त दरवन्दीमा आउने भनेको स्नातकोत्तर गरेका नर्सहरू नै हो, यसलाई विवादको विषय बनाउनुपर्ने हो जस्तो लाग्दैन ।’
डा झाले नर्समा मात्रै नभई चिकित्सकहरूमा पनि स्नातकोत्तर गरेकाहरूलाई मेडिकल अधिकृत पदमा दरखास्त आव्हान गरेको बताइन् ।
View : 129
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved