सत्ता, विपक्ष र लोकतान्त्रिक जिम्मेवारीको सन्तुलन गर्ने वर्तमानमा कांंग्रेसको काँधमा जिम्मेवारी आएको छ । नेपाली कांग्रेस नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रमुख स्तम्भ हो ।
ऐतिहासिक रूपमा लोकतन्त्र स्थापनादेखि संविधान निर्माणसम्म निर्णायक भूमिका निर्वाह गरेको कांग्रेस आज पनि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण शक्ति बनेर विद्यमान छ । तर वर्तमान अवस्थामा कांग्रेस केवल इतिहास बोकेको पार्टी मात्र नभई, सत्ता सञ्चालन, लोकतन्त्रको रक्षा, र जनआकाङ्क्षा सम्बोधन गर्ने वर्तमान जिम्मेवारी बोकेको शक्तिशाली दलका रूपमा उभिएको देखिन्छ ।
भदौ २४ गते अगाडि राजनीतिक परिदृश्यमा कांग्रेसले सरकारको नेतृत्व वा साझेदारी दुवै भूमिकामा रह“दै आएको थियो । संविधानको रक्षा र संघीय गणतन्त्रको स्थायित्व, राज्य सञ्चालनलाई निरन्तरता र स्थिरता दिनु, विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र अर्थतन्त्रमा नीतिगत योगदान अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्दै राष्ट्रिय हितको संरक्षण गर्नु थियो ।
तर जनस्तरमा हेर्दा, सरकारमा रह“दा सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा अपेक्षित सुधार नआएको भन्ने आलोचना पनि तीव्र भयो । त्यसैले वर्तमान कांग्रेसका लागि आफ्नो नीति तथा नेतृत्वका कुरा अब भनेर वाचा गर्ने भन्दा पनि बढी आफ्नै उत्तरदायित्वको परीक्षा बनेको छ ।
लोकतन्त्रको रक्षकका रूपमा भूमिका : कांग्रेसको मुख्य पहिचान भनेकै लोकतन्त्रको पक्षधर पार्टी हो । आज पनि अधिनायकवादी सोचको प्रतिरोध, प्रेस स्वतन्त्रता, मानवअधिकार र नागरिक अधिकारको संरक्षण संवैधानिक संस्थाको स्वतन्त्रता कायम राख्ने पक्षमा उभिनु यी क्षेत्रमा कांग्रेसको भूमिका अझै महत्वपूर्ण देखिन्छ ।
वर्तमान संक्रमणकालीन राजनीतिमा लोकतान्त्रिक मूल्य कमजोर हुने खतरा रहँदा कांग्रेसको सक्रियता राष्ट्रका लागि अनिवार्य बनेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा कांग्रेसको भूमिका निर्णायक छ ।
प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण, समावेशी शासनमा सहभागिता महिला, दलित, जनजाति, मधेसी र पिछडिएका वर्गको प्रतिनिधित्व यी सबैमा कांग्रेसको सक्रिय उपस्थिति देखिए पनि अझै व्यवहारिक कार्यान्वयनमा कमजोरी देखिन्छ । नीति छ, तर प्रभावकारी कार्यान्वयन चुनौती बनेको छ ।
जब कांग्रेस विपक्षमा रहन्छ, तब यसको भूमिका अझै संवेदनशील हुन्छ । कांग्रेसले सरकारका कमजोरी उजागर गर्ने, गलत नीतिविरुद्ध संसद र सडक दुवैबाट आवाज उठाउने तर राज्यको स्थायित्व बिग्रन नदिने रचनात्मक विपक्षको भूमिका निर्वाह गर्नु पर्छ ।
आजको नेपाली समाज युवा प्रधान समाज हो । तर राजनीतिमा युवाको सहभागिता कमजोर देखिएकोले कांग्रेसको वर्तमान भूमिका युवालाई संगठनमा तान्ने प्रयास हुनु पर्ने देखिन्छ । तर निर्णय तहमा अनुभवी नेता र युवाको उर्जाको साथ समायोजन गर्न सकेन भने भविष्यमा पार्टीको जनआधार कमजोर हुन सक्छ ।
आर्थिक र सामाजिक सवालमा भूमिकामाको कुरा गर्दा देशको मुख्य समस्या बेरोजगारी, आर्थिक मन्दी, युवा पलायन र महंगी हो। यी विषयमा कांग्रेस मिश्रित अर्थनीतिको पक्षमा उभिएको छ ।
निजी क्षेत्र र लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ। तर व्यवहारमा आर्थिक स्थायित्व, रोजगारी र उत्पादन वृद्धिमा जनअपेक्षा अनुसार परिणाम दिन सकेको छैन । यही कारण कांग्रेसप्रति जनआक्रोश र निराशा बढ्दै गएको देखिन्छ ।
निष्कर्ष भन्ने हो भने वर्तमान अवस्थामा नेपाली कांग्रेस केवल एक राजनीतिक दल मात्र होइन, लोकतन्त्रको रक्षा गर्ने जिम्मेवार शक्ति, जनआकाङ्क्षालाई मुखरित गर्ने शक्ति हो । तर यसको वर्तमान भूमिका आशा र आलोचना दुवैको केन्द्रमा रहेको छ।
यदि कांग्रेसले अब पनि आत्मसमीक्षा गर्दै सुशासन, युवा सहभागिता, आर्थिक सुधार र जनसरोकारलाई प्राथमिकता दिन सकेन भने यसको ऐतिहासिक विरासत संकटमा पर्न सक्छ । तर समय अनुसार आफूलाई रूपान्तरण गर्न सकेमा, कांग्रेस पुनः जनविश्वासको पहिलो विकल्प बन्न सक्ने सम्भावना अझै जीवित छ । त्यसको लागी सहमती सहकार्य र एकता आजको आवश्यकता हो ।
(लेखक राजु मास्के नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य हुन् ।)
View : 2122
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved