गाइघाट । राष्ट्रिय महिला फुटबल टोलीमा रहेका उदयपुर जिल्लाका खेलाडीहरू बिहीबार गृहजिल्लामा सम्मानित भएका छन् ।
साफ च्याम्पियनसीप–२०२४ मा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको महिला राष्ट्रिय टोलीका खेलाडीहरू सविता राना मगर र अमिसा कार्कीलाई नेकपा एमाले उदयपुरले सम्मान गरेको हो । उनीहरूलाई बाजागाजासहित सदरमुकाम गाइघँट परिक्रममा गराइएको थियो ।
सविता राना मगर रौतामाई गाउँपालिका–५ की बासिन्दा हुन् । त्यस्तै अमिसा कार्की उदयपुरको त्रियुगा नगरपालिका–५ की हुन् ।
खेलका क्रममा घाइते बनेकी राष्ट्रिय टोलीकै हिरा भुजेल पनि उदयपुरकै कटारी नगरपालिका–५ की बासिन्दा रहेकी छन् । उनी उपचाररत रहेका कारण सम्मान कार्यक्रममा उपस्थित हुन नसकेपनि मगर र कार्कीलाई अभिनन्दनसहित सम्मानित गरिएको नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताए ।
खेलाडीहरूलाई उदयपुरको क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझी र संविधानसभा सदस्य मन्जु कुमारी चौधरीले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए । सम्मानपछि खेलाडीहरूले आगामी दिनमा अझ उत्कृष्ट खेल प्रदर्शनमा हौसला प्रदान गरेको बताए ।
सम्मान कार्यक्रममा जिल्ला फुटवल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्की, नेपाल खेलकुद महासंघ उदयपुरका अध्यक्ष सागर नेपाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अवसरमा राई जातीको साकेला र मगरको हुर्रा नाच प्रस्तुत गरिएको जनाइएको छ ।
View : 160
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved