रामधुनी–७ र इटहरी–१९ आसपासको क्षेत्रमा भण्डारण गरिएको नदीजन्य पदार्थ । तस्वीर : उद्घोष
सुनसरी । सुनसरीको सेउती खोलामा रात परेपछि नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारका लागि ट्याक्टरको ताँती लाग्ने गरेको स्थानीयले बताएका छन् ।
रामधुनी–७ को जंगल क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवा बोकेका ट्याक्टर एकपछि अर्को गर्दै निस्कने र ती सामग्री रामधुनी–७ तथा इटहरी–१९ का विभिन्न स्थानमा थुपार्ने गरिएको स्थानीयको आरोप छ ।
स्थानीयका अनुसार खोलाबाट निकालिएको ढुंगा, गिट्टी र बालुवा केही दिनसम्म विभिन्न स्थानमा अस्थायी रूपमा भण्डारण गरी पछि बिक्री गर्ने गरिएको छ । उनीहरूले यस्तो गतिविधि लामो समयदेखि चलिरहेको दाबी गरेका छन् ।
नदीजन्य पदार्थ उत्खनन्का लागि आवश्यक अनुमति, वातावरणीय अध्ययन तथा उत्खनन्को परिमाणसम्बन्धी प्रश्न उठिरहेका बेला त्यसलाई नियन्त्रण तथा अनुगमन गर्नुपर्ने प्रहरी र वन कार्यालयका केही कर्मचारीकै संरक्षणमा दोहन भइरहेको स्थानीयले आरोप लगाएका छन् ।
उनीहरूले उत्खनन्कर्ताबाट नियमित रूपमा रकम उठाउने गरिएको आरोपसमेत लगाएका छन् । यद्यपि रकम कसले, कति र कुन माध्यमबाट उठाउने गरेको हो भन्ने विषयमा स्थानीयले प्रमाण सार्वजनिक गरेका छैनन् ।
रामधुनी–७ आसपासको वन तथा खोला क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवा निकालेर दर्जनौँ ट्याक्टरमार्फत रामधुनी–७ र इटहरी–१९ का विभिन्न स्थानमा भण्डारण गर्ने गरिएको स्थानीयको भनाइ छ । उनीहरूका अनुसार उत्खनन् तथा ओसारपसारको काम प्रायः रातको समयमा हुने गरेको छ ।
दिनमा हेर्दा केही हुँदैन, रात परेपछि खोलामा ट्याक्टरको चहलपहल बढ्छ, एक स्थानीयले भने । उनका अनुसार खोलाबाट निकालिएको नदीजन्य पदार्थ बस्ती आसपासका विभिन्न स्थानमा थुपारिने र केही दिनपछि त्यहाँबाट बिक्री तथा ओसारपसार गरिन्छ ।
रातको समयमा ठूलो संख्यामा ट्याक्टर आवतजावत हुँदा स्थानीय बासिन्दा त्रसित हुने गरेको उनीहरूको गुनासो छ । कतिपय ट्याक्टर तीव्र गतिमा चलाउने तथा चालकको व्यवहारसमेत असामान्य देखिने गरेको स्थानीयको आरोप छ । यसले दुर्घटनाको जोखिम बढाएको उनीहरूको भनाइ छ ।
स्थानीयले नदीजन्य पदार्थ ओसारपसारमा संलग्न कतिपय व्यक्तिले लागुऔषध सेवन गरी ट्याक्टर चलाउने गरेको आरोपसमेत लगाए ।
स्थानीयले सेउती खोलामा भइरहेको उत्खननबारे जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायलाई जानकारी गराएको दाबी गरेका छन् । तर पटक–पटक गुनासो तथा जानकारी गराउँदा पनि रातको समयमा हुने उत्खनन् र ओसारपसार नरोकिएको उनीहरूको भनाइ छ ।
स्थानीयका अनुसार सेउती खोलाको दोहन लामो समयदेखि विभिन्न समूहबाट हुँदै आएको छ । अनुगमन तथा नियन्त्रणको जिम्मेवारी पाएका निकायबीच प्रभावकारी समन्वय नहुँदा उत्खनन्कर्ताले सहज रूपमा नदीजन्य पदार्थ निकाल्ने गरेको उनीहरूको आरोप छ ।
रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले सेउती दोहन रोक्न नगरपालिकाले पटक–पटक अनुगमन तथा नगर प्रहरी परिचालन गर्दै आएको बताइन् । उनका अनुसार नगरपालिकाले केही ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीसमेत गरेको छ ।
हामीले पटक–पटक अनुगमन गरेका छौँ, नगर प्रहरी परिचालन गरेका छौँ र केही ट्याक्टर नियन्त्रणमा लिएर कारबाही पनि गरेका छौँ, थापाले भनिन्, तर प्रहरी प्रशासन र वन कार्यालयबाट प्रभावकारी सहयोग नहुँदा खोला दोहन रोक्न समस्या भएको छ ।
उनले सेउती दोहन नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासन तथा तरहरा सब–डिभिजन वन कार्यालयले थप सक्रियता देखाउनुपर्ने बताइन् । नगरपालिकाले आफ्नो तर्फबाट निगरानी गरिरहेको भए पनि अन्य सम्बन्धित निकायको सहयोगबिना पूर्ण रूपमा नियन्त्रण गर्न कठिन भइरहेको उनको भनाइ छ ।
प्रहरीलाई पनि गुनासो आएको दाबी
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक सञ्जीव ओलीले सेउती खोलामा भइरहेको दोहनबारे आफूहरूलाई पनि गुनासो आएको बताए । उनले नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न पहल भइरहेको जानकारी दिए । गुनासो हामीलाई पनि आएको थियो । मैले डिभिजन वन कार्यालयसँग पनि कुरा पुर्याएर नियन्त्रणका लागि समन्वयात्मक पहल गर्न आग्रह गरेको थिएँ, ओलीले भने ।
उनले सेउती क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणमा स्थानीय तह पनि बढी जिम्मेवार भएर लाग्नु पर्ने बताए ।
स्थानीय प्रहरी चौकीसमेत दोहनमा संलग्न व्यक्तिहरूसँग मिलेको आरोपबारे प्रश्न गर्दा प्रहरी निरीक्षक ओलीले आफूले त्यस विषयमा बुझ्ने बताए ।
डिभिजन वन कार्यालय सुनसरीका निमित्त डिभिजन वन अधिकृत रितेशभूषण बस्नेतले सेउती क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको स्वीकार गरेका छन् ।
उनका अनुसार दोहन नियन्त्रणका लागि तरहरा र धरान सब–डिभिजन वन कार्यालयमार्फत अनुगमन तथा नियन्त्रणको प्रयास भइरहेको छ ।
उत्खनन् भइरहेको गुनासो आएपछि हामीले अनुगमनका लागि कर्मचारी पठाएका थियौँ, बस्नेतले भने, तर हाम्रा कर्मचारी सवार मोटरसाइकललाई नै तस्करीमा संलग्न समूहले ट्याक्टरले पेलेर झन्डै मारेको अवस्था भयो ।
वन कर्मचारीमाथि आक्रमणको प्रयास भएको दाबीपछि नदीजन्य पदार्थ उत्खननमा संलग्न समूहको गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायसँग समन्वय आवश्यक रहेको उनले बताए ।
बस्नेतका अनुसार तरहरा सब–डिभिजन वन कार्यालयका प्रमुख बिन्देश्वर शाहलाई केही दिनअघि डिभिजन वन कार्यालय इनरूवामा सरूवा गरिएको छ ।
उनको स्थानमा नयाँ कर्मचारी पठाइएको उनले जानकारी दिए । शाहको सरूवा नियमित प्रशासनिक प्रक्रियाअनुसार भएको उनको दाबी छ ।
सेउती खोलाको जुन क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको स्थानीयले बताएका छन्, उक्त क्षेत्र वन क्षेत्रभित्र पर्ने भएकाले उत्खनन्को वैधानिकतामाथि समेत प्रश्न उठेको छ ।
नदीजन्य पदार्थ उत्खनन्का लागि आवश्यक स्वीकृति, वातावरणीय मापदण्ड र कानुनी प्रक्रियाको पालना भए–नभएको विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ ।
स्थानीयले रातको समयमा हुने उत्खनन् तथा ओसारपसार तत्काल रोक्न, नियमित अनुगमन बढाउन र दोषी देखिए कानुनी कारबाही गर्न माग गरेका छन् ।
View : 53
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved