विराटनगर । सार्वजनिक बिदाको दिनबाहेक सधैं व्यस्त रहने जिल्ला प्रशासन कार्यालय मोरङमा शुक्रबार पनि बाक्लै चहलपहल थियो ।
अरू दिन सेवाग्राहीहरूको उपस्थितिले भीड हुन्थ्यो भने शुक्रबार सरकारप्रति तिखा र पेचिला प्लेकार्डसहित एकछत्र भएर आन्दोलन गरिरहेकाहरूको भीड देखिएको थियो ।
गृह मन्त्रालय हुँदै पलिकास्तरसम्म पुगिसकेको सुकुम्वासीको अवस्थित व्यवस्थापन नामको खबरले उनीहरू त्रसित हुँदा सरकारको ध्यानाकर्षण गराउन आन्दोलनकारी जिल्ला प्रशासन कार्यालय मोरङ आइपुगेका थिए ।
संघीय राजधानी काठमाडौं हुँदै फैलिएको डोजर आतंकले देशभर कोलाहल निम्त्याएको छ ।
कोशी प्रदेशका प्राय जिल्लाहरूमा डोजर आतंकको त्रासले ठाउँ पाएको छ ।
झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका सर्वसाधारण काठमाडौंमा चलेको डोजरले झस्काएको छ ।
धरानबाट सुरू भएको विरोध अभियान झापा, मोरङसम्म पुग्यो । त्यस्तै सोही विषयमा देशका हरेक क्षेत्रका सुकुम्वासी आन्दोलित भएका छन् । त्यस्तै आन्दोलनको दृश्य देखियो शुक्रबार पनि जिप्रका मोरङमा ।
उनीहरूले हातमा डोजर आतङ्क बन्द गर, सुकुम्वासीलाई पूर्जा दे, सुकम्वासीको गाँस, बासको ग्यारेन्टी गर, सुकम्वासीलाई बाँच्न दे लेखिएका प्लेकार्ड बोकेका थिए ।
मोरङको ग्रामथान, सुनर्षी, रंगेली लगायतका पालिकाका सुकुम्बासी वासिन्दा जिप्रकामा सरकारसमक्ष आफ्नो वेदना पोख्न उपस्थित भएका थिए ।
मोरङ ग्रामथानको झोराहाटका ७५ वर्षीया एक वृद्धाले सरकारको कदमको विरोधाभाषी भएको दावी गरिन् ।
उनले भनिन्, ‘अहिले बसेको ठाउँबाहेक हामीले अन्यत्र घर बनाउनुपर्छ र जग्गा किन्नुपर्छ भन्ने सोच कहिले आएन ।
विगतका दिनदेखि सरकारको कदम हामीलाई त्यही राख्ने भन्नेतिर थियो । तर, पहिलेको सरकारले पनि लालपूर्जा र धनीपूर्जा नै त दिएका थिएनन् ।’
उनले थपिन्, ‘छोरा विदेश छ । बुहारी र नाति छन् घरमा अब सरकारले के गर्न खोजेको बुझ्नै गाह्रो भयो ।’
उनी झोराहाटको मुसहर टोलको सार्वजनिक जग्गामा बस्दै आएकी छन् ।
पुरानो दलका नेताहरूले केही गरेनन् भनेर हामीले नयाँलाई भोट दियौं, आज औंला दिंदा सरकार बनेर डुडलो निलेको झैं लागिरहेछ’ उनले भनिन् ।
ग्रामथान–२ का वडाध्यक्ष यादव खतिवडाका अनुसार सो वडामा पाँच सय वटा सुकुम्वासीहरूको घर रहेका छन् ।
पिडारवनी, झोराहाट चोककै नहरछेउ लगायतका क्षेत्रमा भूमिहीन नागरिक बसोबास गर्दै आएको उनले जानकारी दिए ।
View : 148
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved