विराटनगर । दोस्रो ‘नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव २०८३’ सम्पन्न भएको छ ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विदआउट बाउण्ड्रिजको सहकार्य तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोग र कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धनमा आयोजित ग्रासरुट क्रिकेट महोत्सव आयोजना गरिएको थियो ।
विराटनगर–६ स्थित मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको महोत्सवमा कोशी प्रदेशको विराटनगर, सुनसरी (तरहरा), उदयपुर, पथरी र इलाम तथा मधेश प्रदेशका सिरहा र राजविराज गरी ७ वटा हबबाट ६३ जना बालिकाहरूले सहभागिता जनाएका थिए ।
नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठका अनुसार नेपालको ग्रासरुट स्तरको महिला क्रिकेटलाई प्रवद्र्धन गर्ने तथा खेलाडीबीच आपसी सिकाईको अवसर सिर्जना गर्न महोत्सव आयोजना गरिएको हो ।
महोत्सवभर ८ ओभरको सफ्ट बल क्रिकेटका ११ वटा खेलहरू खेलाइएका थिए । हरेक हबले एकअर्कासँग खेल खेल्ने अवसर पाएका थिए ।
प्रतियोगितात्मक रूपमा कुनैपनि हबलाई पहिलो दोस्रो स्थान निर्धारण नगरिएको जनाइएको छ । महोत्सवको उद्देश्य क्रिकेटको उत्सव मनाउने र बालिकाहरूलाई खेलमा सहभागी गराउने रहेको अध्यक्ष श्रेष्ठले बताए ।
View : 46
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved