Biratnagar, Morang, Nepal
३ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

उद्घोष दैनिक २२ औँ वार्षिकोत्सव

राज्यले नै व्यवसायीलाई डराउने वातावरण बनायो भने नयाँ लगानी आउँदैन : सुरेन्द्र पाण्डे

उद्‌घोष संवाददाता
३ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक विकासको नेतृत्व सरकारले एक्लै गर्न नसक्ने भन्दै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण उपलब्ध गराउनु राज्यको मुख्य जिम्मेवारी भएको बताएका छन् । 

उद्घोष दैनिकको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै पाण्डेले नेपालले पुरानो सोच र नियन्त्रणमुखी आर्थिक नीतिबाट बाहिर ननिस्किएसम्म अपेक्षित विकास हासिल गर्न नसक्ने बताए ।

‘सरकारले देश बनाउने होइन । सरकारले मार्गदर्शन गर्ने, नियमन गर्ने र निजी क्षेत्रलाई सहज वातावरण बनाउने हो ।  निजी लगानीबिना देश बन्दैन,’ उनले भने ‘अहिले बजेटको ठूलो हिस्सा चालु खर्चमा जान्छ । पुँजीगत खर्च अपेक्षाकृत कम छ । यसरी मात्र देशको आर्थिक रूपान्तरण सम्भव हुँदैन ।’

व्यवसायी र लगानीकर्तालाई राज्यले शंकाको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनले बताए । 

‘लगानीकर्ता स्वभावैले जोखिमप्रति सचेत हुन्छ । यदि राज्यले नै व्यवसायीलाई डराउने वातावरण बनायो भने नयाँ लगानी आउँदैन,’ उनले भने । 

उनले पछिल्लो समय अनुसन्धानका नाममा व्यवसायीलाई पक्राउ गर्ने र पछि प्रमाण नपुग्दा छाड्ने प्रवृत्तिले लगानीको वातावरण कमजोर बनाएको बताए । 

‘पहिला थुन्ने र पछि सुन्ने शैलीले लगानीकर्ताको विश्वास घटाउँछ । आर्थिक विकासका लागि कानुनी सुरक्षा र स्थिरता आवश्यक छ ।’

View : 44

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved