विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट टिम विराटनगर किंग्सले टिमको आधिकारिक जर्सी र टिम एन्थम सार्वजनिक गरेलगत्तै उसको आलोचना सुरू भएको छ । खासगरी उसको टिम एन्थम र खेलाडी छनोटको विषयलाई लिएर सामाजिक सञ्जाल गर्माएको छ ।
विराटनगर किंग्सले हिपहप शैलिको टिम एन्थम रोज्दा नयाँ पुस्ताका धेरैले स्वागत गरेका छन् भने उक्त शैलिको गीत अघि सारेर कोशीको पहिचान भनेकोमा केहीले असहमति पनि प्रकट गरेका छन् । तर, यो गीतभन्दा बढी गुनासो खेलाडी छनोटको विषयलाई लिएर देखिएको छ । क्रिकेटप्रेमीहरू त भए नै, राजनीतिक दलका नेताहरूलेसमेत असन्तोष प्रकट गरेका छन् ।
यसरी असन्तोष जाहेर गर्नेमा नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईं पनि एक हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘तामझामका साथ एनपीएलको टिम विराटनगर किंग्सले जर्सी र गीत सार्वजनिक गर्दैगर्दा समग्र कोशीको प्रतिनिधित्व गर्ने टिमले आफ्नो टिममा आफ्नै प्रदेश भित्रका कुन खेलाडीलाई तथा कलाकारलाई महत्व दियो र टिममा समावेश ग¥यो ? यु–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका दिपेश कँडेल, ललित राजवंशी लगायत प्रदेशका धेरै खेलाडीलाई विराटनगरले अक्सनमा बोलिसमेत लगाएको थिएन ।’
उनले जस्तै फेसबुकमा स्टाटस लेखेर टिमबारे गुनासो गर्नेहरू धेरै छन् । तर, धेरैले भने कलाकारहरूबारे गरेको प्रश्न नबुझी गरेको देखिएको टिम व्यवस्थापनले बताएको छ ।
‘हाम्रो टिमको गुडविल एम्बास्डर कलाकार दयाहाङ राई हुन् भने फेस अफ दि टिम गायिका रचना रिमाल हुन्’, व्यवस्थापन टिमका एक सदस्यले भने ‘उनीहरू दुवै कोशी प्रदेशका बासिन्दा हुन् ।’
कांग्रेस महानगर सभापति चापागाईंले खेलाडीबारे गरेको प्रश्न भने अरू धेरैले उठाएका छन् । विराटनगर क्रिकेट मोह भएको शहर मानिन्छ । यही शहरबाट उत्पादन भएका दुई जना यतिबेला राष्ट्रिय टिममा निरन्तर परिरहने खेलाडी बनेका छन् । ललित राजवंशी र दिपेश कँडेल विराटनगरका उत्पादन हुन् ।
तर विराटनगर किंग्सले भने आफ्ना दुई स्थानीय खेलाडीलाई अक्सनमा बोली नै नलगाएको भन्दै गुनासो चुलिएको हो । एनपीएलको अक्सनमा ललित सर्वाधिक महंगामध्ये एक बनेर जनकपुर बोल्ट्समा पुगे भने कँ“डेल काठमाडौं गुर्खाजमा आवद्ध भएका छन् ।
के विराटनगरले मात्रै स्थानीय खेलाडीलाई टिममा नलिएको हो त ? यस्तो भने होइन । जस्तो नेपालका स्टार खेलाडी गुल्शन झा मधेश प्रदेशका हुन् । तर, उनी कर्णाली याक्समा छन् । मधेश प्रदेशकै बासिन्दा रहेका आसिफ शेख र आरिफ शेख सहोदर दाजुभाइ हुन् । यी दाजुभाइसमेत फरक टिमबाट एनपीएल खेल्दैछन् ।
‘व्यावसायिक खेलमा कुन खेलाडी कहाँको बासिन्दा हो भन्नेभन्दा पनि कुन भूमिकाको कुन खेलाडी टिममा हुँदा सन्तुलन मिल्छ भन्ने कुराले टिम छनोट भएको हुन्छ’, विराटनगर किंग्स व्यवस्थापन समूहका एक सदस्यले भने ‘गुनासोहरू हामी पनि हेरिरहेका छौं । टिमको आवश्यकताले यस्तो भएको हो ।’
विराटनगर किंग्समा सन्दिप लामिछाने मार्की खेलाडी, प्रतिश जिसी, बसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल खरेल, दिपक बोहोरा, सुवास भण्डारी, नरेश भट्ट, मृणाल गुरूङ छन् ।
त्यस्तै टिममा पाँच जना विदेशी खेलाडीहरूमध्ये न्यूजिल्याण्डका विष्फोटक ब्याट्सम्यान मार्टिन गुप्टिल, ओमानका कप्तान अकिब इलियास, निकोलस क्रिटोन, क्रिस सोल र इस्मत आलम छन् ।
View : 100
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved