Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित एक करोड दश लाख प्राप्त गरेको छ । शनिबारको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो ।
उद्घोष सम्वाददाता
६ पुष २०८१, शनिवार

काठमाडौँ, ६ पुस । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।

जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए । आशिफ शेखले १९ बल खेल्ने क्रममा चार चौका र दुई छक्कासहित ३३ रनको योगदान दिए ।

हर्ष थाकरले २४ बल खेल्दै दुई छक्काको साहरामा ३० रन बनाए । साथै मोहम्मद मोहसिनले नौ र जिमी निशमले चार, आकाश त्रिपाठीले दुई र मयन यादवले दुई रन बनाए ।

सुदूरपश्चिमका लागि सैफ अलि जेब, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलेइनले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।

उसका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत दिलाए । उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले ।

उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।

साथै ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक-एक विकेट लिए ।

विजेतालाई एक करोड १० लाख

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित एक करोड दश लाख प्राप्त गरेको छ । शनिबारको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो ।

फाइनल खेलपछि आयोेजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओेवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा एक करोड दश लाखको चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गरेका छन् । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई ५१ लाख प्रदान गरे । तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः २५ लाख र १५ लाख प्राप्त गरे । 

तेस्रो र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेक हस्तारण गरेका थिए ।

View : 46

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved